तौलिहवा ।
विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापनमा जुट्न कपिलवस्तुका स्थानियतहलाई प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा सरोकारवालासंग भएको बहुप्रकोप सम्बन्धी चेतनामुलक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले कपिलवस्तुमा हुन सक्ने सम्भावित जोखिमको पहिचान गर्दै त्यसको प्रतिकार्यमा जुट्न जिल्लाका पालिकालाई निर्देशन दिएका हुन् ।
‘मनसुन सुरु भएको अवस्था छ अब पालिकाले आफ्नो क्षेत्रका बाढी तथा पहिरो जानसक्ने क्षेत्रको पहिचान गरी विपद प्रतिकार्यका लागि तयार रहनुका साथै स्थानीयलाई पनि सचेत गराउनु होला ।’
कपिलवस्तुमा बहुप्रकोपजन्य घटनामा सबै भन्दा धेरै सड्क दुर्घटना रहेको तथ्यांकले देखाएको छ सड्क दुर्घटना न्यूनिकरणका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरी बललाई अप्ठ्यारोमा परेको नागरिकको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिए।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१ को बैशाख देखि चैत्रसम्म नेपालमा विपदजन्य घटनाबाट २ हजार ९ सय ३६ जनाले ज्यान गुमाएका छन् ।
जसमा सबैभन्दा बढी सडक दुर्घटनामा मात्रै २२ सय ३२ जनाको मृत्यु भएको छ । यसैगरी हवाई दुर्घटनामा २३, पहिरोमा ३ सय ५१, बाढीमा ९७, चट्याङ ७९, जनावरको आक्रमणबाट ४४, सर्पदंश १९ र हावाहुरीमा ७ जनाको मृत्यु भएको हो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसीले नेपालमा सडक दुर्घटना महामारी बन्दै गएको भन्दै हरेक दिन ७ जनाले दुर्घटनामा ज्यान गुमाएको बताए । विपदजन्य घटनाको ४० प्रतिशत घटना मनसुनको समयमा हुने भएकाले स्थानीय तहले विपद ब्यवस्थापनमा सक्रिय रुपमा तदारुकता देखाउनुपर्ने बताए ।
कार्यक्रममा कपिलवस्तुमा भयाबह बन्दै गएको सडक दुर्घटना न्यूनिकरणका लागि विभिन्न ट्रयाक्टरको ट्रालीको पछाडी, साइकल लगाएतमा स्टिकर टास्न, नदीजन्य पद्धार्थ ढुवानी गर्ने सवारी साधनमा अनिवार्य त्रिपाल लगाउन, छाडा चौपायाको ब्यवस्थापन गर्दै नागरिकलाई सचेत बनाउन सरोकारवालबाट सुझाव आएको थियो ।
विपद ब्यवस्थापनमा स्थानीय तहलाई एकल अधिकार प्राप्त भएकाले बाढीको जोखिममा रहेका नदी छेउका बस्तीको पहिचान गर्दै प्रतिकार्यको काममा लाग्न सुझाव दिए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, महाराजगंजकी उपप्रमुख लगाएतले आफ्नो पालिकाको वस्तुस्थितीबारे जानकारी गराएका थिए । कार्यक्रम प्रहरी उपरिक्षक निरन्जन दत्त भट्ट, नेपाली सेनाका सेनानी अमर राज कट्टेल, सशत्रप्रहरी उपरिक्षक नेत्र केसी लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।







प्रतिक्रिया