१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

शिवराज पूर्ण खोप सुनिश्चितता पालिका घोषणा



कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

आइतबार व्यापार संघ कपिलवस्तुको सभा हलमा एक कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो। ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

आचार्यले घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिगो बनाउन जटिल रहेकाले स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि अभियानकै रूपमा लैजानुपर्ने बताए। समन्वय प्रमुख आचार्यले नगरपालिकाका प्रमुख अजय थापालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

सो अवसरमा नगरप्रमुख थापाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउँदै पालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताए। उनले शिवराज आधारभूत अस्पतालमा आगामी वर्षदेखि सर्पदंशको उपचार पनि सुरु हुने जानकारी दिए।

पालिकामा रहेका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए। १० वटा पालिका रहेको कपिलवस्तुमा तेस्रो पालिकाको रूपमा शिवराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले जानकारी दिए।

जिल्लाका अन्य ७ वटा पालिकालाई क्रमशः घोषणा गर्ने अभियानमा रहेको बताइएको छ। शिवराज नगरपालिकाभर १६–५९ महिना उमेर समूहका ४ हजार ३१५ मध्ये शतप्रतिशत बालबालिकाले पूर्ण खोप पाएको प्रतिवेदन प्रस्तुत गरिएको थियो। सो अवसरमा अभियानालाई सफल बनाउन लागिपरेका स्वास्थ्यकर्मी, स्वयंसेविकालगायतलाई सम्मानसमेत गरिएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२ सोमबार ००:००  १० : २५ बजे