३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बबई नदीमा फसेका दुई जनाको सकुशल उद्धार



बर्दिया ।

यहाँको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरस्थित बबई नदीकोबिच भागमा फसेका दुई जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि  नदीकोबिच भागमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नवीन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । 

उद्धार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ । त्यसैगरी बबई नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने सम्भावित स्थानहरूमा सशस्त्र प्रहरी परिचालन भई सुरक्षित स्थानमा रहन भनिएको छ । 

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । 

प्रकाशित मिति : २० श्रावण २०८२ मंगलबार ००:००  ७ : ४७ बजे