१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बैरियाका राजेश पौडेल विज्ञान संकायमा नेपाल प्रथम भएको विद्यालयको दाबी



वाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियाका राजेश पौडेलले कक्षा १२ को विज्ञान संकायतर्फ नेपालभरि नै उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले दाबी गरेको छ।

राजेशले राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा सार्वजनिक नतिजामा ३.९६ ग्रेड (GPA) प्राप्त गरेका छन्। उनी बुटवलस्थित क्यानन माध्यमिक विद्यालयका विद्यार्थी हुन्। विद्यालयका अनुसार यति उच्च जीपीएको साथ उनी विज्ञान संकायतर्फ देशकै प्रथम विद्यार्थी बनेका छन्।

राजेशको यस उल्लेखनीय उपलब्धिले विद्यालय मात्र होइन, कपिलवस्तु र रूपन्देही जिल्ला सहित सम्पूर्ण लुम्बिनी प्रदेशको समेत शान बढाएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रिन्सिपल शंकर भण्डारी र अध्यक्ष थानेश्वर पौडेलले यस सफलताप्रति खुशी व्यक्त गर्दै राजेशको निरन्तर मेहनत, समर्पण र विद्यालयको शैक्षिक वातावरण तथा शिक्षकहरूको मार्गदर्शनले गर्दा यस्तो नतिजा सम्भव भएको बताएका छन्।

राजेशको सफलता सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ, विद्यालय प्रशासनको भनाइ छ।

उनका बुवा बाबुराम र आमा कमला पौडेलले परिवारकाे पालनपोषणका लागि स साना व्यवसायमा संलग्न छन्। दुई छोरा र एक छोरी छन्, जसमा राजेश कान्छा छोरा हुन्। परिवारले अध्ययनमा निरन्तर साथ र सहयोग गर्दै आएको राजेशका आफन्तहरू बताउँछन्।

प्रकाशित मिति : २० श्रावण २०८२ मंगलबार ००:००  ११ : १७ बजे