१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा भारतीय ब्रोइलर कुखुराको बिगबिगी, सुरक्षा निकाय रमिते



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा खुलेयाम भारतीय ब्रोइलर कुखुराको बिगबिगी बढ्दै गएको छ । प्रहरीका अनेक चेकपोस्ट पार गर्दै भारतीय कुखुरा सहजै नेपाल भित्रेपछि, एकातिर उपभोक्ताको स्वास्थ्य खतरा बढेको छ भने अर्कोतिर नेपाली किसान मर्कामा परेका छन् । आफूहरूको व्यवसाय धरापमा परेको भन्दै पोल्ट्री व्यवसायी आक्रोशित बनेका छन्।

‘सशस्त्र प्रहरी छ, अर्को पुलिस छ, ठाउँठाउँमा चेकिङ छ । तर पनि कुखुरा आइरहेका छन्,ु पोल्ट्री व्यवसायी वर्मा अधिकारीले बताए । उनले करोडौं लगानीको ऋणले किसान र व्यवसायी धरासायी बनेको उनले बताए ।

मुख्य मुख्य नाकाबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट प्रहरी मिलेमतोमा कुखुरा आयात हुने गरेको पाइएको छ ।

तस्करी नेपाल भित्राएका कुखुरा सरदमुकाम तौलिहवा, महाराजगंज देखि महेन्द्र राजमार्ग आसपाससम्म पुग्ने गरेको पाइएको हो । विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेको बताए । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पंक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ, तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेका छन् । सबैभन्दा बढी मर्यादपुर, हर्दौना, भिल्मी, डालपुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा तस्करी हुने गरेको पाइएको हो । मुनाफाका लागि तौलिहवाका मासु व्यवसायीहरु अन्य साना तस्करको प्रयोग गरी आफ्नो फर्म पसलमा ल्याई लुकाइछिपाई अवैधरूपमा कुखुरा ल्याउने र बिक्री वितरण गर्ने गरेको एक व्यापारीले बताए ।

यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपाली फर्म र सप्लायर्सको बील देखाउँदै व्यवसायीहरुले खुलेयाम साना विक्रेता फ्रेस हाउसहरुलाई विक्रि गर्ने गरेको पाइएको हो । यस्ता व्यवसायीले फ्रेस हाउस र साना व्यवसायीलाई कुखुरा विक्रि गर्न एकान्त ठाउँ र दैनिक फरक फरक ठाउँमा बोलाउने गरेको पाइएको हो ।

यता अण्डा मासु र दुग्धमा आत्मनिर्भर रहेको बाणगंगा नगरपालिकामा पनि यसको असर देखा परेको छ । भारतबाट भित्राइएका कुखुरा तौलिहवाका व्यापारीले यहाँका फ्रेस हाउसलाई पसलमै पुर्‍याएर विक्रि गर्न थालेपछी बाणगंगा भित्रका किसान चिन्तित भएका हुन् । केहीदिन अघि बाणगंगा नगरपालिका बनगाई, कोपवा, क्षेत्रका फ्रेस हाउस संचालकहरु जहदी, जगदीशपुर क्षेत्रका सड्कहरुमा तस्करीको सेटिङ्ग अनुसार फरक फरक ठाउँमा पुग्ने गरेको भएपनि हाल बिना अवरोध नगरका मोतिपुर बनगाई बोडगाउँ, चप्परगाउँ जिनुवासम्म पुग्ने र सस्तो मूल्यमा कुखुरा दिने गरेपछि बाणगंगाका कुखुरा पालक किसान चिन्तित बनेका हुन् ।

कुखुरा व्यवसायी बाबुराम भट्टराई, भिम श्रेष्ठ लगायतले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरेपनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे । भारतीय कुखुराका कारण महँगो दाना र औषधी खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उनीहरुको भनाई छ ।

भारतमा १ सय ४० रुपैयाँ प्रतिकेजीमा पाइने कुखुरा नेपालमा २ सय १० देखि २ सय २० रुपैयाँ प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसलपसलमा पुर्‍याउने गरेका छन् । यसका कारण नेपाली कुखुरा समेत यतिबेला किसानले १ सय ७० रुपैया देखि १ सय ९० रुपैयाँ सम्म विक्रि गर्न बाध्य भएको बताए ।

यता नेपाली कुखुरा विक्रेताहरुले समेत २ सय १० रुपैयाँमा फ्रेस हाउसहरुलाई दिएको भएपनीे कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य ४ सय देखि ४ सय २० देखि ४ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक घितेन्द्र कुमार सिंहले आफू भर्खर आएको र बस्तुस्थिति नबुझेको यदि त्यस्तो भएमा तत्काल कडाई गर्ने बताए ।

खुल्ला सिमाना र कतिपय स्थानमा दशगजामा समेत सुरक्षा भएको अवस्थामा यस्ता गतिविधि छिटफुट रुपमा हुने सामान्य भएपमि जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरुमा नै भारतीय कुखुरा छ्यापछ्यापती पाउनुले प्रहरी प्रशासन माथी प्रश्न चिन्ह खडा भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२ शनिबार ००:००  ८ : ४१ बजे