बुटवल।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीको आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रको विकासबाट सम्भव रहेको चर्चा गर्दै समग्र प्रदेशलाई जोड्न लुम्बिनी पर्यटन सर्किटको योजना बनाएको बताउनुभएको छ ।
बाह्य पर्यटक भित्राई उनीहरूलाई प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको बताउनुभएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका(१, पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आयोजित एक महिने श्री शिव महापुराण श्रृङ्गारिक महोत्सव, नन्दी प्राणप्रतिष्ठा तथा बोलबम महामहोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उक्त कुरा बताउनुभयो ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने प्रशस्त धार्मिक र पर्यटकीय गन्तव्यहरू भए पनि ती क्षेत्रहरूमा आवश्यक पूर्वाधार र अनुकुल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता अझै कायम रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ूजबसम्म हामी बाह्य पर्यटकलाई लुम्बिनी प्रदेशमा भित्राउन सक्दैनौं, तबसम्म पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुँदैन । अहिले पनि बाह्य पर्यटकहरू आइरहेका छन्, तर उनीहरूलाई रोक्न सकिरहेका छैनौं । त्यसैले घुम्न लायक गन्तव्यहरू निर्माण गर्न जरुरी छ ।ू
मुख्यमन्त्री आचार्यले धार्मिक स्थलहरूको विकासमा सङ्घ, प्रदेश र स्थानीय तहको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उहाँले धार्मिक पर्यटनको सम्भावना भएका क्षेत्रहरूको समुचित विकास गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
तराई, पहाड र हिमाल रहेको लुम्बिनी प्रदेशमा यहि विविधतायुक्त भूगोलले समेत पर्यटकलाई आकर्षित गर्न सक्ने आधार रहेको समेत उल्लेख गर्नुभयो ।







प्रतिक्रिया