१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

असारे बजेट सकाउन खोज्दा ‘शङ्खमूल सडक’को दुरावस्था



काठमाण्डौ ।

‘झरी परेपछि हिलाेले बाटोमा हिँड्ने स्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ’ । बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलमा रहेको वडा नम्बर ३१ को सडकको बिजोग देखेर भन्नुहुन्छ, ‘छि ! सडक ।’

यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाण्डौ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ । ‘घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ, हिँडेपछि सास्ती । अस्ती सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न त्यस्तै जोखिम छ’, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई भन्नुहुन्छ । 

कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले सडककाे दुर्दशा देखिरहेका छन् । जेठ/असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नैपर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोशित छन् । वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलो समेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको छ । 

तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवातजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्नुहुन्छ । सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ ।

अधिवक्ता एवम् स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँडडुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताउनुभयो । सडक खन्दा जनताले कसरी हिँडडुल गर्ने भनेर हेक्का नै नराखी काम गरेको उहाँले बताउनुभयो । ‘मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन ? विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खामासमा’, उहाँले भन्नुभयो, ‘वडाले चाँडोभन्दा चाँडो हिलोबाटोलाई व्यवस्थापन गरेर हिँडडुल गर्न सक्ने बनाउनुपर्छ ।’

कोटेश्वरदेखि शङ्खमूलमा रहेकाे विद्यालयमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताउनुभयो । शङ्खमूल गणेशमार्ग नजिकै रहेको यो सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर हिड्नेलाई आउनेजानेक्रममा सास्ती भइरहेको उहाँको भनाइ छ । 

किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताउनुभयो । ‘वर्षाभरि हिलोले सताउने भयो, चैत–वैशाखमा धुलोले पिरोल्ने’, उहाँ भन्नुुहुन्छ, ‘विकासको नाममा उल्टै नागरिकको दैनिकी  नै नराम्ररी प्रभावित हुनेगरी काम गर्नु निन्दनीय छ ।’

यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको लामिछानेले गुनासो गर्नुभयो । ‘खाल्डो खन्दा सडकबाट निस्किएको हिलोलाई व्यवस्थापन गरेर अलिकति समथर बनाइदिए काम चल्थ्यो, तर यहाँ जसरी भत्काइयो, त्यस्तै छ । यो जनप्रतिनिधिको लापरबाही हो ।’

काठमाण्डौ महानगरपालिका–३१ का वडाअध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकैपटक गर्ने योजनाका कारण गएको आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउनुहुन्छ ।

‘५० वर्षअघि राखिएको छ इन्चको ढल प्रतिस्थापन गरी अहिले ४२ इन्चको ठूलो ढल राखिएको छ । खानेपानीको पाइप र बिजुलीका तार एकैसाथ बिछ्याउने तयारी भएको हुँदा यस्तो भएको हो’, उहाँले भन्नुभयो,‘पाइप, ढल राख्न सडक खन्नै पर्‍यो । हिलोमा ग्राभेल गर्न सकिँदैन । स्थानीयलाई गाह्रो भएको छ, तर अरू उपाय छैन । तीन–चार महिनापछि त पहिलेको भन्दा राम्रो सडक बनिहाल्छ नि !’

प्रकाशित मिति : २५ श्रावण २०८२ आइतबार ००:००  १ : १९ बजे