१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एकै गतिका काम गर्छौं, तर नतिजा देखिने प्रगति गर्छौंः नगर प्रमुख अर्याल



कपिलवस्तु ।

बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरको विकास कार्यमा परिणाममुखी दृष्टिकोणका साथ अघि बढिरहेको बताएका छन्। उनले २०७४ सालदेखि निरन्तर नगर नेतृत्व गर्दै आएको उल्लेख गर्दै भने, “एकै गतिका साथ काम गर्छौं, तर नतिजा देखिने प्रगति गर्छौं। नगरको आवश्यकता पहिचान गरेर मात्र सहयोगी संस्थासँग सहकार्य गर्छौं, र ती कार्यक्रम नगरको वार्षिक योजनामा समावेश गरेर अघि बढाउँछौं।”

जलवायु विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी ठोस कार्ययोजना बनाइने बताउँदै प्रमुख अर्यालले “भाषणमा होइन, व्यवहारमा सामाजिक सूचकका आधारमा बाणगङ्गा नगरपालिकालाई प्रदेशमै उत्कृष्ट बनाएका छौं” भन्दै सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा रेन परियोजनाका लुम्बिनी प्रदेश अनुकूलन संयोजक सञ्जीव श्रेष्ठले परियोजना स्थानीयकरण र समावेशीकरणमा केन्द्रित रहेको स्पष्ट पारे। उनले परियोजनाले सामुदायिक उत्थानशीलता, पूर्वसूचना, पूर्वकार्य र अनुकूलनमा जोड दिएको उल्लेख गर्दै लुम्बिनी र मधेश प्रदेश परियोजनाको कार्यक्षेत्र रहेको जानकारी दिए। श्रेष्ठका अनुसार कपिलवस्तु जिल्लामा बाणगङ्गा, बुद्धभूमि, शिवराज, महाराजगञ्ज, कपिलवस्तु र यशोधरा नगरपालिकामा परियोजना लागू भइसकेको छ।

उनले विशेषगरी विपद् व्यवस्थापनसम्बन्धी कार्यमा स्थानीय तह र सामुदायिक संस्थाको भूमिकालाई सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको बताए।

कार्यक्रमको उद्घाटन नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं। २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले स्वागत मन्तव्य राखे भने शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले सञ्चालन गरे।

सो अवसरमा नगर उपप्रमुख रीता कुमारी चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, सामुदायिक वनका प्रतिनिधि, सहकारीका प्रतिनिधि र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको बाणगङ्गा नगरपालिकाले जनाएको छ। २ दिनसम्म अर्घाखाँचीको नरपानी रिसोर्टमा कार्यशाला संचालन भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२ शुक्रबार ००:००  ७ : ५६ बजे