काठमाण्डौ ।
कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।
दूतावासले विज्ञप्ति निकालेर विषाक्त रक्सी सेवनबाट केही नेपालीको निधन भएको र ३५ जना अस्पताल भर्ना भएको भन्दै यस्तो आग्रह गरेको हो ।

दूतावासले ज्यान गुमाउने नेपालीको सङ्ख्या उल्लेख गरेको छैन । विषाक्त रक्सी खाएर कम्तीमा नौ जना नेपालीको ज्यान गएको बुझिएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले मेथानोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरुमध्ये २३ जनाको ज्यान गएको जनाएको छ । मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावासका अनुसार ३५ जना नेपाली नागरिकको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
केहीको ज्यान गएको जानकारी पनि प्राप्त भएको र केहीको गम्भीर अवस्थामा उपचार भइरहेको दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया