कपिलवस्तु ।
आज देशभर भगवान् श्रीकृष्णको जन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’ भक्तिभावपूर्वक पूजाआराधना गरी मनाइँदैछ । यसै अवसरमा कपिलवस्तुको वाणगङ्गा–२ पिपरा स्थित श्रीराधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
भक्तजनहरूले जल, फूल र प्रसादसहित मन्दिरमा पुजा–आराधना गर्दै दर्शन गरेका छन्। मन्दिर व्यवस्थापन समितिले सहज पूजाआजाका लागि विशेष व्यवस्था मिलाएको छ भने स्वयंसेवक समूह परिचालन गरी दर्शनार्थीलाई सहजता दिलाइएको छ। समितिले भक्तजनका लागि प्रसाद तथा सर्वतको व्यवस्थासमेत गरिएकाे राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा दिनभर भजन–कीर्तनको कार्यक्रम चलिरहेको छ। भजन–कीर्तन समूहका संयोजक डिल्लीराज खनालले आज दिनभर श्रीकृष्णको पूजा–आराधना, वेदपाठ, भजन–कीर्तनमार्फत भक्तिभाव प्रकट गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। साथै विभिन्न संघसंस्था, समूह र श्रद्धालुहरूले मन्दिरलाई दान तथा आर्थिक सहयोग गरेका छन्।
यसैबीच संस्कृति संरक्षण, हाम्रो अभियान भन्ने मूल नारासहित रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले श्रीराधाकृष्ण मन्दिरलाई ११ हजार ५ सय ३५ रुपैयाँ नगद सहयोग गर्दै भक्तिभाव प्रकट गरेको छ।

धर्मशास्त्रअनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस अवसरमा देशभरका कृष्णमन्दिरमा पूजाआजा, प्रवचन, भजन–कीर्तन हुँदै विशेषगरी महिला–पुरुषले व्रत बसेर रातभर जाग्राम गर्ने परम्परा छ।

पाटनको प्रसिद्ध मङ्गलबजारस्थित कृष्णमन्दिरमा बिहानैदेखि मेला लागेको छ भने पशुपति क्षेत्र, वसन्तपुर दरबार क्षेत्रसहित देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ।

यस दिन विभिन्न धार्मिक सङ्घ–संस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने परम्परा रहेको छ। अष्टमीको मध्यरातमा जन्मोत्सव मनाइए पनि भाद्र कृष्ण नवमीका दिन रथयात्रा गर्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो।








प्रतिक्रिया