मायादेवी अनलाइन, जितपुर ।
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई, कपिलवस्तुले एकाईले आगामी आर्थिक वर्ष संचालन गर्ने कार्यक्रमबारे जानकारी गराएको छ । मंगलबार बाणगंगाको होटल माछापुच्छ्रेमा एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८१/ ०८२ को सार्वजनिकीकरण तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे जानकारी गराएको हो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई, कपिलवस्तुका वरिष्ठ कृषि अधिकृत राकेश कुमार ओझाले जिल्लामा अहिले धान सुपर जोन, तरकारी जोन तथा माछा जोन कार्यक्रम संचालन भएको भन्दै गहुँको उत्पादन राम्रो भएकाले गहुँ जोन कार्यक्रम थप्नुपर्ने बताउनुभयो ।

यसका लागि आफुले पटकपटक सम्बन्धित निकायलाई जानकारी गराएको भन्दै कार्यक्रम लागु भएमा कपिलवस्तु गहुँमा आत्म निर्भर बन्न सक्ने आधारहरु प्रसस्त रहेको बताउनुभयो । कपिलवस्तुको बाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिका गरी ३४ वटा वडाहरुमा अहिले धान सुपर जोन कार्यक्रम संचालनमा रहेको छ ।
यसैगरी तरकारी जोन कार्यक्रम बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाँउपालिकाका १४ वटा वडामा लागु भएको छ भने माछा जोन कार्यक्रम ५ वटा पालिकाका ३९ वटा वडामा संचालित छ । कपिलवस्तुमा आर्थिक वर्ष २०७३ / ०७४ मा धान जोनका रुपमा स्थापना भई आर्थिक वर्ष २०७५ / ०७६ बाट धान सुपर जोनमा स्तरोन्नती भएको प्रमुख वरिष्ठ कृषि अधिकृत ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले अब जिल्लामा आधुनिक तवरले कृषिको उत्पादन हुनुपर्ने भन्दै कृषिको आधुनिकिकरणमा जोड दिनुपर्ने बताउनुभयो । आचार्यले कपिलवस्तुका ९६ वटै वडाहरुमा धान सुपर जोन कार्यक्रम लागु गर्न माग गर्दै बढी आम्दानी हुने र उत्पादनको प्रचुर सम्भावना भएको गहुँबालीलाई मध्यनजर गर्दै गहुँ जोन कार्यक्रम संचालन गर्नु पर्ने बताउनुभयो । यसका लागि आफुले सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभयो ।
जिल्लामा रासायनिक मलको हाहाकार भएको अवस्थामा रासायनिक मलको प्रयोगले माटोको उर्बराशक्ती कमजोर बन्दै गएको भन्दै गड्यौली र प्रांगारिक मलको प्रयोगमा कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख रमेश कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी लगाएतले बोल्दै कार्यक्रम संचालन गर्दा ३ वटै निकायले सहकार्य गर्नुपर्ने बताउनुभएको थियो । जोनले संचालन गरेका कार्यक्रम प्रभावकारी रहेको भन्दै थप कृषकमैत्री कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा डाक्टर महेन्द्र यादवले माछा जोन कार्यक्रम अन्तरगत जिल्लामा रहेको ५ वटा ह्याचरी मध्ये २ वटा जीर्ण अवस्थामा रहेकोले अब निर्माण गर्दा दीर्घकालिन योजनाका साथ काम गर्न सुझाव दिनुभयो । उहाले कृषकको लागत पनि रहेको र उत्पादन पनि राम्रो भएको अवस्थामा भुराहरुको विक्रिवितरणमा समस्या भएको बताउनुभएको थियो । कार्यक्रममा विभिन्न पालिकाका कृषि तथा पशुविकास शाखाका प्रमुख, प्राविधिक तथा संचारकर्मीको सहभागिता रहको थियो । कार्यक्रमको संचालन राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई, कपिलवस्तुका कृषि अधिकृत सौराज विश्वकर्माले गर्नुभएको थियो ।







प्रतिक्रिया