३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बाँकेका ६ स्थानीय तह क्षेत्रका पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण



बाँके ।
बाँकेका ६ स्थानीय तहमा पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखा परेको छ। स्थानीय तहहरूले सङ्क्रमण नियन्त्रणका लागि उपचार सुरु गरेका छन्, तर सङ्क्रमित पशुको सङ्ख्या बढ्ने अनुमान छ।

किसानहरूलाई अनुदानमा औषधि उपलब्ध गराइएको छ र भारतबाट पनि औषधि ल्याइएको छ।

नेपालगन्ज । बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए ।

उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी दिए । यहाँको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ, डुडुवाका केही क्षेत्रमा सङ्क्रमण देखिएको हो ।

हालसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भने सङ्क्रमण नभएको विज्ञ केन्द्रले जनाएको छ । सूचना अधिकारी रावलले एक महिनादेखि नै पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिन थालेको उल्लेख गर्दै सबैभन्दा बढी गाई र गोरुमा समस्या भएको बताए । स्थानीय तहबाट विवरण आउने क्रम जारी रहेकाले सङ्क्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

जिल्लाको जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर लगाउने गरिएको बताए ।

राप्ती सोनारीका पशु सेवा विभाग प्रमुख जयबहादुर कार्कीले गाउँपालिका–१, २, ६ लगायतका वडामा सङ्क्रमण देखिएकाले ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रलाई पत्राचार गरिएको बताए ।

प्रकाशित मिति : १३ भदौ २०८२ शुक्रबार ००:००  ६ : ०५ बजे