बुटवल ।
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झन्डा ओढाएका हुन् । त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
पार्टीका अगुवा नेता,कार्यकर्ता, परिवारका सदस्य, आफन्तहरूको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरा बाछी गाउँ निवासी पुनको शनिबार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
निधनप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने कार्यमा पुनले महत्त्वपूर्ण योगदान गरेको बताए ।
उनलाई एक दूरदर्शी, इमानदार, अनुशासित, विकास प्रेमी र निष्ठावान् जनप्रतिनिधिका रूपमा स्मरण गर्दै पुनको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको मुख्यमन्त्री आचार्यले बताए ।
पुनको केही दिनअघि एकै पटक दुई वटा ठुलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन भने दोस्रो अपरेसनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।







प्रतिक्रिया