१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

कोइलीचौर सामुदायिक बनको २६औं साधारणसभा सम्पन्न



बाबुराम रायमाझी, जितपुर

‘रुख रोपौँ, बन जोगाऔँ’ भन्ने मुल नाराका साथ वाणगंगा–९ स्थित कोइलीचौर साना किसान सामुदायिक बन उपभोक्ता समूहले आफ्नो २६औं साधारणसभा सम्पन्न गरेको छ।

कार्यक्रममा समूहकी सचिव सुस्मा क्षेत्रीले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बन संरक्षण, व्यवस्थापन र सामाजिक विकाससँग जोडिएका गतिविधिहरुको विस्तृत विवरण प्रस्तुत गरेकी थिइन। त्यस्तै, समूहकी कोषाध्यक्ष माधुरी सेन ओलीले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन्।

कोइलीचौर सामुदायिक बनका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक बनको भावी रणनीति र दीर्घकालीन योजनाबारे धारणा राख्दै बन संरक्षणसँगै उपभोक्ताको आयआर्जनमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम अघि बढाइने जानकारी गराए। लेखा समितिका सदस्य मोतिकला पुनले पनि लेखा प्रतिवेदन सुझावसहित प्रस्तुत गरेकी थिइन्।

यस अवसरमा सामुदायिक बन अन्तर्गत सञ्चालित अति विपन्न बाल विकास केन्द्रमा अध्ययनरत ९ जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा शैक्षिक सामग्री वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सब–डिभिजन वन कार्यालय, गोरुसिङ्गेका प्रमुख मोतिराम पौडेलले सामुदायिक बनको गतिविधि निति, नियम र योजनाअनुसार पारदर्शी ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै वैज्ञानिक बन व्यवस्थापन प्रणाली सुरु भएपछि सामुदायिक बनले दिगो गरीबी निवारण र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

त्यस्तै, वडाध्यक्ष कमल पौडेलले वडास्तरका विकास–निर्माणमा सामुदायिक बनको सहकार्य र योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीयस्तरमा यसले सकारात्मक प्रभाव पारेको बताए।

साधारणसभामा लुम्बिनी प्रदेश वैज्ञानिक बनका अध्यक्ष दीपक कुमार थापा, पत्रकार महासंघका सदस्य बाबुराम रायमाझी, सामुदायिक बनका तर्फबाट बिन्द्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष देबबहादुर श्रीसले गरेका थिए भने सञ्चालन सचिव सुस्मा क्षेत्रीले गरेकी थिइन्।

वाणगंगा–९ मा अवस्थित कोइलीचौर साना किसान सामुदायिक बन २१८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस बनमा ४ सय ५५ उपभोक्ताहरु आबद्ध छन्। साधारणसभामा छिमेकी सामुदायिक बनका अध्यक्ष, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १६ भदौ २०८२ सोमबार ००:००  ७ : २७ बजे