मायादेवी अनलाइन, बाणगंगा ।
अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर १३ ले वडाबासीलाई पायक पर्ने स्थानबाट सेवा दिन सुरु गरेको छ ।
बर्खाको बेला वडा कार्यालयसम्म पुग्न वडाबासीलाई समस्या हुने भन्दै वडा नम्बर १३ ले नजिकको पायकपर्ने स्थानबाट सेवा सुरु गरेको हो ।
सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बाट केही दिनका लागि वडाको सेवा सुरु गरिएको वडा अध्यक्ष दुर्गा बहादुर बिसीले जानकारी दिए ।
‘अहिले समाजिक सुरक्षाभत्ताको लागि अनलाइन नवीकरणको काम चलिरहेको छ । यो बर्खाको बेला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति वडा कार्यालय पुग्न सकस छ । जसोतसो वडा कार्यालय पुगेपनि कहिले नेट नआउने, कहिले विद्युत नहुने समस्या छ, वडा अध्यक्ष बिसीले भने, ‘सबै कुराको मध्यनजर गरी तराईबाट सेवा दिन थालेका हौं ।’
यहाँबाट सेवा दिन थालेपछि वडा नम्बर १३ का भङ्गला, मुसिवान, ढाड, मझिफाट, भलासिघ्र लगायतका गाउँका लागि पायकपर्छ, वडा अध्यक्ष बिसीले भने ।
अबका केही दिन यहाँबाट सेवा दिने र सबै काम सकाएर निस्कने योजना रहेको उनले सुनाए ।
वडाबाट पाउने अन्य सिफारिस भन्दा सामाजिक सुरक्षाभत्ता नवीकरण जस्ता अभियानका कामका लागि घुम्ती शिविर अनिवार्य रहेको वडाको अनुभव छ ।
कतिपय काम निश्चित अवधि भित्र सक्नुपर्ने हुन्छ । यस्तो बेला गाउँ गाउँका पुगेर सेवा दिन सक्दा वडाबासीलाई फाइदा पुग्छ, वडाध्यक्ष बिसीले भने ।
बसाइँसराइको तीब्र चपेटामा रहेको यो वडाका अधिकांश कपिलवस्तुको बाणगंगा क्षेत्रमा बसोबास गर्दै आएका छन् । शिक्षा, रोजगारीका लागि पनि वडा नम्बर १३ का लागि बाणगंगा पायक पर्ने स्थान हो ।
यस भन्दा अगाडि पनि वडाले जग्गाको हालसाबिक गर्दा गाउँ गाउँ पुगेर वडाबासीलाई सेवा दिएको थियो ।







प्रतिक्रिया