कपिलवस्तु ।
कपिलवस्तुलाई सडकआश्रित मानवमुक्त बनाउन स्थानीय तहको सामूहिक प्रतिबद्धता जनाएका छन् । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला बनाउन मानवसेवा आश्रमले बुधबार कपिलवस्तुको तौलिहवामा जिल्लाका स्थानीय तह र सरोकारवालासँग राखेको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले सो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले नेपाल सरकारले घोषणा गरेको मिति अगावै कपिलवस्तुलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्लाको रूपमा स्थापित गर्न पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले “सडक मानवहरूको संरक्षण आफुहरुको जिम्मेवारी रहेको भन्दै यसका लागि जनप्रतिनिधि, कर्मचारी र सरकारी संस्था सधैं तत्पर रहेको बताउनुभयो ।
बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले यो अभियान सरकारकै जिम्मेवारी भएको बताउँदै सरकारको काम मानवसेवा आश्रमले गरेकोमा आभार प्रकट गर्नुभयो ।
शिवराज नगरपालिकाका प्रमुख अजय थापा र उपप्रमुख शिवकुमारी चौधरीले आफ्ना पालिकामा सडकआश्रित मानिस नदेखिनु आश्रमको योगदान भएको उल्लेख गर्दै निरन्तर साथ रहने प्रतिबद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङले नेपाल सरकारको नीति–कार्यक्रमअनुसार यस अभियानमा जिल्ला प्रशासनको सक्रिय साथ रहने स्पष्ट पार्नुभयो ।
मानवसेवा आश्रमका समर्पित अभियन्ता, केन्द्रीय अध्यक्ष तथा अभियानका परिकल्पनाकार रामजी अधिकारीले “सरकारको घोषणा मिति अगावै कपिलवस्तुलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्लाको परिचय दिलाउने तयारी भइरहेको भन्दै सबै निकायको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
यसअघि रोल्पा र प्युठानमा समेत यस्तै अन्तरक्रिया सम्पन्न भइसकेको छ । कपिलवस्तुमा सम्पन्न कार्यक्रममा जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्दै लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश बनाउन आधार तयार गर्ने सामूहिक प्रतिबद्धता जनाइएको हो । कार्यक्रमको संचालन जिल्ला समन्वय समिती प्रमुख जर्नादन अधिकारीले गर्नुभएको थियो ।
१८ भदौ २०८२ बुधबार ००:००
72
Shares







प्रतिक्रिया