वाणगंगा ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम शारु मगर र पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले चीनको ग्वान्जाओमा स्वास्थ्य, शिक्षा, र उद्योग क्षेत्रमा प्रयोग भइरहेका अत्याधुनिक प्रविधिहरूको अध्ययन र अवलोकन गरी मंगलबार स्वेदश फर्किनुभएको छ । एक साताकाे भ्रमणमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, कोडिङ, ड्रोन, र अन्य प्राविधिक विषयको अनुसन्धान, विकास र उत्पादन प्रक्रियाको अध्ययन संगै चिनीया प्रतिनिधीसंग सद्भाव वैठक समेत बसेर अादान प्रदान गरिएकाे प्रदेश सांसद विष्णु पंथीले मायादेवी अनलाइनलाइ जानकारी दिनुभयाे ।
“यो अध्ययन मुख्य रूपमा प्रविधिको प्रयोग र विकासमा केन्द्रित छ। हामीले यहाँका स्वास्थ्य, शिक्षा, र उद्योग क्षेत्रमा प्रयोग भइरहेका उपकरणहरू, रोबोटिक्स, र एआई प्रविधिको अवलोकन गर्यौं। यी प्रविधिहरूकाे सिकाइले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ” स्वास्थ्य मन्त्री मगरले भन्नुभयाे ।

अध्ययन टोलीले ग्वान्जाओस्थित विभिन्न प्राविधिक केन्द्रहरूको समेत भ्रमण गरेकाे थियाे । जहाँ स्वास्थ्य विज्ञानमा एआईको प्रयोग विशेष रूपमा आकर्षक देखियो। आन्हुइ प्रान्त सरकारको लगानीमा सञ्चालित एक विश्वविद्यालयद्वारा स्थापित संस्थाले विकास गरेको एआई प्रणालीले जिब्रो, आँखा, र अनुहारको विश्लेषण गरी केही सेकेन्डमै समग्र स्वास्थ्य प्रतिवेदन तयार गर्न सक्छ। यो प्रणालीले दिएका प्रतिवेदनहरू धेरै हदसम्म सटीक रहेको पाइएको छ। यद्यपि, यसका सीमाहरूबारे मन्त्री मगरले भने, “यो प्रणालीले तत्काल स्वास्थ्य मूल्याङ्कन गर्न प्रभावकारी देखिए पनि जटिल रोगहरूको गहिरो विश्लेषण र दीर्घकालीन उपचारका लागि मानव चिकित्सकको भूमिका अझै अपरिहार्य छ।”

शिक्षा र उद्योगमा प्रविधिको सम्भावना
प्रदेश सभा सदस्य पंथीले ग्वान्जाओको अध्ययनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा चिनियाँ प्रविधिको प्रयोगबाट ठूलो लाभ लिन सकिने सम्भावना औंल्याउनुभयो। उहाँले भन्नुभयो, “हाम्रा स्कूल र अस्पतालहरूमा यस्ता प्राविधिक उपकरण र एआई प्रणालीको प्रयोगले गुणस्तरीय सेवा प्रवाहमा सुधार ल्याउन सकिन्छ।” भ्रमणका क्रममा साउथ चाइना एडभान्स मेटेरियल्स पार्क र सेडिसाइनको मुख्यालयको अवलोकन पनि गरिएको थियो।

बहुउद्देश्यीय थिमपार्क र नेपालमा लगानीको सम्भावना
ग्वान्जाओबाट २८० किलोमिटर उत्तरपूर्वमा निर्माणाधीन बहुउद्देश्यीय थिमपार्कको अवलोकन गर्दै टोलीले चिनियाँ सेनाका अवकाशप्राप्त एक उद्यमीसँग भेटघाट गरेको थियो। उक्त उद्यमीले नेपालमा पनि यस्तै थिमपार्क निर्माण गर्न इच्छुक रहेको बताए। यो परियोजनाले नेपालमा पर्यटन, शिक्षा, र प्रविधि क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न सक्ने सम्भावना छ।
चिया संस्कृतिको झल्को
भ्रमणका क्रममा टोलीले चीनको समृद्ध चिया संस्कृतिको पनि अनुभव गर्यो। चिया संस्कृति र प्राविधिक विकासको संयोजनले ग्वान्जाओको सांस्कृतिक र औद्योगिक पहिचानलाई थप जीवन्त बनाएको भ्रमण टाेलीकी सदस्य अनुपमा पन्थीले बताउनुभयाे।
प्रदेश सांसद पन्थी चिन भ्रमण सकेलगेत्तै नेकपा एमालेकाे काठमान्डाैमा हुने विधान महाधिवेशनमा सहभागी हुने कार्यक्रम तय भएकाे छ ।








प्रतिक्रिया