१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

नेकपा (एमाले) कपिलवस्तु सचिवालय बैठक, निर्णय के भए त ?



कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुकाे जिल्ला सचिवालय बैठक आज बाणगंगामा सम्पन्न भएको छ। बैठकमा सहभागी अधिकांश नेताहरूले हालको राजनीतिक अवस्था, जेनजी आन्दोलनको मूल्यांकन र त्यसले उठाएका मुद्दाबारे समीक्षा गर्दै राजनीतिक दलहरूले समयसापेक्ष रुपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

बैठकमा बोल्ने नेताहरूले जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासन, भ्रष्ट्राचार नियन्त्रण, शासकीय संरचनाको पुनःसंरचना तथा निर्वाचन प्रणालीमा सुधार जस्ता विषयमा पार्टीले स्पष्ट र ठोस धारणा बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, नेपाली सेनाको भूमिकाबारे पनि बैठकमा प्रश्न उठाइएको थियो।

त्यसैगरी, तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्नुपर्नेमा बैठक एकमत रह्यो। बैठकले तत्कालीन सरकार प्रमुख सुशिला कार्कीलाई घटनाको छानबिन गर्नुपर्ने मागसमेत गरेको छ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य एवम् कपिलवस्तु इञ्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलराम अधिकारी, एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्ती लगायतले आफ्ना धारणा राखेका थिए।

बैठकका मुख्य निर्णयहरू ः

बैठकले दशै तिहारको समयमा जिल्ला, पालिका तथा वडा तहका कमिटीको वैठक बसेर संगठनका कार्यलाई अघि बढाउने जनाएको छ । जनसंगठन समन्वय संयन्त्रको वैठक यहि असोज ९ गते भित्र आयोजना गर्ने र जेनजीकाे नाममा भएका आन्दोलनकाे क्रममा विभिन्न कारणले कमिटिमा आवद्ध नेता तथा जनप्रतिनिधीले सामाजिक संजाल मार्फत दिएका राजीनामा सम्वन्धमा अध्ययन गरी थप प्रकृया अघि बढाउने निर्णय गरेको छ । साथै उक्त प्रदर्शनका क्रममा पार्टी नेता तथा जनप्रतिनिधी, सांसदहरुको भौतिक संरचना तोडफोड, आगजनी जस्ता गतिविधीहरुको कार्यमा संलग्नको पहिचान तथा अावश्यक छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । छानविन समितिले असोज १० गते भित्र सत्य तथ्य विवरण सहितको प्रतिवेदन बुझाउने जनाएको छ ।

बैठकले आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको विषयमा पीडित पक्षको सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ । वैठकले विभिन्न जिम्मेवारीमा रहनुभएका नेता तथा कार्यकर्ताको स्वास्थ्य लाभको कामना गर्दै जेनजी को प्रदर्शनका क्रममा देशका विभिन्न ठाउँमा भएका घटनामा परी मृतक जेनजी, सुरक्षाकर्मी प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको सचिव सिबि गहतराजले जानकारी दिनुभयो ।

बैठक जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तव्य र सचिव सिवि गहतराजको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित मिति : ७ आश्विन २०८२ मंगलबार ००:००  ७ : ५५ बजे