१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न सुझाव



काठमाण्डौ ।
केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ । विभागका अनुसार पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या छ । यस राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।
यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बिपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागको भनाइ छ । गएको वर्ष असोज दोस्रो हप्ताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन ठाउँमा ‘डाइभर्सन’ गरिएको थियो । यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम शुरु गरिने विभागले जनाएको छ ।
यस्तै, कान्ति लोकपथ आज मात्र खोल्न सकिने अवस्था रहेको विभागले जनाएको छ । सङ्घीय राजधानीबाट बागमती प्रदेश राजधानी जोड्ने अरु सडकमा पनि ठाउँठाउँमा पहिरोले समस्या भएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा राति गाडी सञ्चालनमा रोक लगाइएको छ । पहिरोको उच्च जोखिम भएकाले राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८२ सोमबार ००:००  ७ : २३ बजे