१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

थारू समुदायमा पनि भित्रियाे देउसी-भैलाे



कैलाली ।

केही वर्षअघिसम्म तिहार (भाइटीक) नमान्ने कैलालीका राना थारु समुदाय अहिले तिहारको तयारीमा जुटेका छन् । यो समुदायका लागि तिहार ठूलो पर्व नभए पनि लक्ष्मीपूजा भने वर्षभरको एक विशेष क्षणका रूपमा मनाउँछन् ।

थारू नागरिक समाज कैलालीका जिल्ला संयोजक दिलबहादुर चौधरी पछिल्लो समय तिहार मनाउने चलनमा आफ्नो समुदायमा केही परिवर्तन आएको बताउँछन् । ‘राना थारू र चौधरी समुदायमा लक्ष्मीपूजाको दिन मात्र विशेष रूपमा मनाइन्छ । अचेल त देउसी, भैलोसँगै भाइटीका मनाउन पनि थालेका छन्,’ उनले भने । चौधरीका अनुसार यो समुदायमा लक्ष्मी पूजा समाप्त भएपछि तिहार सकिएको मानिन्थ्यो ।

कैलालीको गोदावरी नगरपालिका–५ बर्वट्टाकी भलमन्सा राजकुमारी चौधरीका अनुसार लक्ष्मीपूजाका दिन गाउँका सबै मानिस दहित (चौधरीभित्रको थर) को घरमा जम्मा भएर ढिक्री (चामलको पिठोबाट बन्ने खानाको परिकार) को पूजा गर्छन् । लक्ष्मीपूजाको अघिल्लो दिन सबैले आफ्नो घरमा भएका सागसब्जी दहितलाई दिने चलन छ ।

‘पहिला चामलको पिठोले रंगोली बनाई दियो–बत्ती बालिन्थ्यो । देउता, पितृलाई पुजिन्थ्यो र लक्ष्मीपूजा गरेर तिहार सकिन्थ्यो,’ परम्परामा परिवर्तन आएको बताउँदै भलमन्सा चौधरी भन्छिन्, ‘पहिला त तिहार भन्नासाथ लक्ष्मीपूजा मात्रै हुन्थ्यो । न भाइटीका लगाइन्थ्यो, न देउसी–भैलो खेलिन्थ्यो । अहिले बालबालिकादेखि युवासम्मले रमाइलोका लागि देउसी(भैलो खेल्ने, भाइटीका लगाउने चलन बढेको छ ।’

थारु समुदायभित्र पनि थरअनुसार तिहार मनाउने चलन फरक छ । चौधरीभित्रकै कठरिया थारू समुदाय यसको उदाहरण हो । कैलालीको कैलारी गाउँपालिका–१ मनाउँका कनैयाँ कठरिया लक्ष्मीपूजाको साँझ कुखुराको भालेको पूजा गरेर सकिने बताउँछन् । ‘लक्ष्मीपूजामा देवता पूजन, ढिक्री पूजा र घर–घरमा मिठा परिकार बनाएर सामूहिक भोज गरिन्छ । अन्तिममा भालेको पूजा गरेर तिहार सकिन्छ,’ उनले भने । कठरिया समुदायमा पनि अचेल देउसीभैलो र भाइटीका मनाउन थालेको उनले बताए ।

थारू कल्याणकारी समाजका संयोजक दिलबहादुर चौधरीका अनुसार कठरिया समुदायको नयाँ वर्ष पनि कात्तिकदेखि सुरु हुने गर्छ । चौधरीहरुले माघी मनाएर नयाँ वर्षको स्वागत गर्छ । तर कठरिया समुदायमा कात्तिकदेखि सुरु हुने मान्यता छ । उनका अनुसार कठरिया समुदायको गाउँमा भलमन्सा चयन पनि कात्तिकमै हुने गर्छ ।

पश्चिम नेपालमा मात्रै बसोबास भएको रानाथारु समुदायमा भने तिहारमा फरकपन पाइन्छ । उनीहरुले लक्ष्मीपूजा गरे पनि विशेष दिन भाइटीकालाई नै मान्छन् ।

धनगढीका सेभीसिंह राना तिहारको दिन हलो जोत्न र डल्लफ चलाउन नमिल्ने बताउँछन् । राना भन्छन्, ‘पहिला भाइटीका लगाइदैनथ्यो । यो दिन मिठा परिकार बनाएर आफन्त, साथीभाइलगायत गाउँलेलाई आमन्त्रण गरिन्छ ।’

पहिला देउसी(भैलो नखेल्ने राना समुदायमा अहिले उल्लासका साथ देउसी खेलिन्छ । कैलालीकी पत्रकार उन्नति चौधरी यसको कारण मिश्रित समुदायको बसोबास र सामाजिक सञ्जाललाई मान्छिन् । उनका अनुसार रानाथारु समुदायाका लागि तिहार आयातित पर्व हो । चौधरी पछिल्ला वर्षमा सञ्चारमाध्यम र अन्य समुदायसँगको घुलमिलले संस्कृति आदानप्रदान भइरहेको पनि बताउँछिन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२ मंगलबार ००:००  ८ : ४४ बजे