१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एकैदिन ६ दुर्घटनामा १३ जनाको मृत्यु



काठमाडौं ।

शुक्रवार देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा १३ जनाको मृत्यु भएको छ। सबैभन्दा ठूलो दुर्घटना रुकुम पश्चिममा भएको छ, जहाँ जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना: रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा कमला वली, टेकजंग बुढा, दिलमाया बुढा, कल्पना नेपाल, मनिका वली, सर्मिला विक, गोपाल वली र सबिता विक रहेका छन्। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको सल्लेमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

Laxmi sunrise bank

अन्य स्थानमा भएका दुर्घटना:

Shivam Cement
  • स्याङ्जा: पुतलीबजार नगरपालिका–१४ आमडाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४५ वर्षीय माधव प्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ।
  • प्युठान: माण्डवी गाउँपालिका–५ रम्दीस्थित सडकमा गाडी दुर्घटना हुँदा चालक २६ वर्षीय निरज नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको छ। गाडीमा सवार अन्य ३ जनालाई बुटवल रिफर गरिएको छ।
  • रूपन्देही: देवदह नगरपालिका–९ घोडाह जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय सम्सेर खानको सिद्धबाबा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
  • दाङ: घोराही उपमहानगरपालिका–१३ ओडारखोलास्थित सडकमा अटो दुर्घटना हुँदा अटोमा सवार ३६ वर्षीया बम कुमारी विकको नेपालगञ्जस्थित संजिवनी मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य ६ जनाको घोराहीमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पाल्पा: रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २८ वर्षीय अर्जुन विकको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८२ शनिबार ००:००  ६ : २७ बजे