८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ



काठमाडौँ । 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ  हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । 

अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल र आयुष बडाललगायतले सुशीला कार्कीको नियुक्ति बदर र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दिएका थिए।

भदौ २३ र २४ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमनत्री नियुक्त गरेको थियो। प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम राष्ट्रपति पौडेल​ले भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गरेका थिए। उनले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मितिसमेत तोकेका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०८२ बुधबार ००:००  ८ : १९ बजे