३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

पत्रकार महासंघ कपिलवस्तुद्वारा प्रमुख जिल्ला अधिकारी तामाङलाई बिदाइ



कपिलवस्तु ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले कपिलवस्तु जिल्लाबाट बाँके जिल्लामा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्री दिलकुमार तामाङलाई एक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरेको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले तामाङको कार्यशैली, प्रशासनिक दक्षता र सहकार्यपूर्ण नेतृत्वको प्रशंसा गर्दै उहाँले कपिलवस्तु जिल्लामा सद्भाव, समन्वय र सुशासन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको बताएका थिए।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले तामाङको कार्यकाललाई उदाहरणीय बताउँदै “तामाङज्यूले अनुशासन, संयम र जिम्मेवारीका साथ जिल्ला प्रशासनको कार्य सम्पादन गर्नु भयो। उहाँको परिणाममुखी सोच र सकारात्मक दृष्टिकोणले कपिलवस्तुमा प्रशासनिक कार्यप्रणालीमा नयाँ ऊर्जा थपिएको छ।”

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य बसन्त गिरी, पूर्व जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, शाखा उपाध्यक्ष खगप्रसाद चापागाई, महिला उपाध्यक्ष दिपा महत लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

बिदाइ समारोहमा प्रमुख जिल्ला अधिकारी तामाङलाई बुद्धको मूर्ति मायाको चिनो स्वरूप प्रदान गरिएको थियो। सो अवसरमा उपस्थित पत्रकार र अधिकारीहरूले आगामी कार्यकालका लागि उहाँको सफलताका शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८२ बुधबार ००:००  ६ : ४४ बजे