कपिलवस्तु ।
फिट एण्ड फाइन स्पोर्ट्स क्लब, तिलोतमा–३ रूपन्देहीको आयोजनामा पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रवार र सनिवार सन्चालन भएको प्रतियोगिताको भेट्रान्स ४५ वर्षमाथिको वर्गतर्फ कपिलवस्तु जिल्लाका राजकुमार पोखरेल र रितेश थापाको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन ।
सोही वर्गमा रूपन्देहीका महेश्वर नेपाल र पाल्पाका महेश बज्राचार्य दोस्रो भएका छन् भने बाँकेका अनिलकुमार लाखे र सुदिप योञ्जन तथा रूपन्देहीका अर्जुन कार्की र नारायण तिवारीले तृतीय स्थान प्राप्त गरेका छन ।
विजेताहरूलाई क्रमशः प्रथमलाई नगद ३० हजार, दोस्रोलाई २० हजार र तृतीयलाई पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता खुला मेन्स डबल, भेट्रान्स ४५ं र सुपर भेट्रान्स ५५ं गरी तीन विधामा सम्पन्न गरिएको थियो ।
कुल १२५ टिमको सहभागिता रहेको प्रतियोगितामा भेट्रान्स समूहबाट मात्र ५४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
समापन समारोहका प्रमुख अतिथि तिलोतमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले खेलकुदले समाजमा एकता, अनुशासन र सकारात्मक सोच विकास गर्ने भएकाले यस्ता प्रतियोगिताहरूले प्रदेशमा खेलकुदको स्तर उकास्न सहयोग पुर्याउने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेश खेल प्रतिभाले भरिएको प्रदेश भएको उल्लेख गर्दै खेलाडीहरूले आफ्नो लगन र मिहिनेतमार्फत प्रदेश र देशको गौरव बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख खाँडले तिलोतमा नगरपालिकाले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूको हौसला अभिवृद्धिमा प्राथमिकता दिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
फिट एण्ड फाइन स्पोर्ट्स क्लबका अनुसार प्रतियोगिताको उद्देश्य प्रदेशस्तरमा ब्याडमिन्टन खेलको प्रचार–प्रसार, खेलाडीबीच आपसी सम्बन्ध सुदृढीकरण र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्नु रहेको छ ।








प्रतिक्रिया