३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

लोकसेवा पास गर्नेमा बढी निरक्षर र किसानका छोराछोरी



काठमाडौँ ।

बढीमात्रामा कृषि पेसा लिएका र निरक्षर अभिभावकहरूका छोराछोरीले लोकसेवा आयोगको परीक्षामा पास भएको पाइएको छ।

आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनमा परीक्षा पास गरेर सिफारिस भएका उम्मदेवारहरूको आमा ३३ प्रतिशत निरक्षर र बुबा १६ प्रतिशत निरक्षर रहेको उल्लेख छ।

सिफारिस भएका ४१ प्रतिशत उम्मेदवारका बुबा प्राथमिक शिक्षा पढेका र सिफारिस भएका उम्मेदवारका ४८ प्रतिशत आमा प्राथमिक शिक्षा पढेको उल्लेख छ। उच्च शिक्षा पढेकाहरूको हकमा कम छ।

सिफारिस भएका उम्मेदवारहरूको उच्च शिक्षा पढेका २० प्रतिशत बुबा र १६ प्रतिशत उच्च शिक्षा पढेका आमा रहेको प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा बढी कृषि पेसा अंगालेका अभिभावकहरूको छोराछोरीले लोकसेवा आयोगको परीक्षा पास गरेर सिफारिस भएका छन्।

उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमा उल्लेख गरे अनुसार सिफारिस भएका ६७.१७ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेशा कृषि रहेको देखिएको छ। सरकारी सेवामा रहेकाको हकमा १७ प्रतिशतमात्रै रहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदन अनुसार सिफारिस भएका उम्मेदवारको अभिभावकको पेशामा व्यापारमा करिब ९ प्रतिशत, श्रममा करिब ३, शिक्षणमा २.३१ र व्यवसायमा ०.८५ प्रतिशत रहेको छ। 

प्रकाशित मिति : २६ कार्तिक २०८२ बुधबार ००:००  ९ : ०५ बजे