१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

गर्भावस्थामा सिटामोल खाँदा बच्चालाई अटिजम हुन्छ ?



काठमाडौँ ।

गएको सेप्टेम्बरको अन्तिम हप्तामा दुखाइ निवारक पारासिटामोलबारे विश्वभर व्यापक बहस सुरु भयो । ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनको क्रममा सेप्टेम्बर २३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भावस्थामा पारासिटामोल नखान महिलाहरूलाई सल्लाह दिएपछि यसको प्रयोगबारे प्रश्नहरू उठे । 

हालै आएको नयाँ रिपोर्टले भने गर्भावस्थामा पारासिटामोल लिने र बच्चाहरूमा अटिजम वा एडीएचडी हुने जोखिमबिच कुनै ठोस सम्बन्ध फेला नपारेको देखाएको छ । व्यापक अध्ययनहरूको आधारमा डाक्टरहरूको टोलीले यो औषधिलाई आफूले खतरनाक नदेखेको भनेका छन् ।  

पारासिटामोल विश्वमा सबैभन्दा बढी प्रयोग हुने दुखाइ कम गर्ने औषधि हो । अमेरिकामा मात्रै झन्डै आधाजसो गर्भवतीले यसको सेवन गरिरहेका छन् । हालैका वर्षमा बच्चाहरूमा अटिजमका घटनाहरू द्रुत रूपमा बढेका छन् । वैज्ञानिकहरूले यस पछाडिका कारणहरू बुझ्ने प्रयास गर्दा केही रिपोर्टले गर्भावस्थामा पारासिटामोलको प्रयोग यसको एउटा कारक हुन सक्ने बताएको थियो । यसै सन्दर्भमा ट्रम्पले पनि पारासिटामोल प्रयोग नगर्न चेतावनी दिएका थिए । 

बच्चामा अटिजम बढ्नुको कारण पारासिटामोलको प्रयोग नभएर निदानमा समस्याहरूको कारण भएको विशेषज्ञहरू बताउँछन् । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अहिलेसम्मकै सबैभन्दा ठुलो समीक्षामा बच्चाहरूमा अटिजम विकास गर्ने कारक पारासिटामोल हो कि होइन भनेर विशेषज्ञहरूले ४० वटा अध्ययनसहित अघिल्लो पटक भएका व्यवस्थित नौ वटा समीक्षाको विश्लेषण गरेका थिए ।  

के भन्छन् विज्ञ ?  

‘महिलाहरूले यो कुरामा सचेत हुनुपर्छ कि हालको प्रमाणले पारासिटामोल र अटिजमबिच कुनै सम्बन्ध पुष्टि गर्दैन । गर्भवतीहरूले ज्वरो वा दुखाइ कम गर्न पारासिटामोलको सेवन गर्न आवश्यक छ भने यसमा कुनै समस्या हुँदैन,’ इङ्गल्यान्डकी लिभरपूल विश्वविद्यालयकी सल्लाहकार तथा अध्ययनकी प्रमुख लेखिका प्रोफेसर शकीला थाङ्गराथिनमले भनेकी छन् । गर्भावस्थामा उच्च ज्वरो बच्चाका लागि खतरनाक हुन सक्छ, त्यसैले समयमै उपचार आवश्यक छ । यस उद्देश्यका लागि पारासिटामोल लामो समयदेखि प्रयोग गरिँदै पनि आइएको छ । 

धेरैजसो समीक्षाहरूले गर्भावस्थामा पारासिटामोलको प्रयोग र बच्चाहरूमा अटिजमबिच कुनै पनि सम्बन्धलाई अस्वीकार गरेका छन् । केही अध्ययनहरूले भने यसको प्रयोगमा चिन्ता व्यक्त गरेका छन् । तर धेरैजसो विशेषज्ञहरूले पारासिटामोललाई सुरक्षित मान्छन् । दुई अध्ययनले भने आनुवंशिकी र गर्भवतीको चिकित्सा इतिहासजस्ता अन्य कारकहरूको आधारमा बच्चाहरूमा अटिजमको जोखिमबारे चिन्ता व्यक्त गरेको थियो ।  

२० लाखभन्दा बढी स्विडेनी बालबालिकाहरू सामेल अर्को समीक्षाले गर्भावस्थामा पारासिटामोल लिने आमाहरूमा अटिजम र ध्यानमा कमीसँग सम्बन्धी विकारको दर अलि बढी रहेको पत्ता लगाएको छ । तर विज्ञहरूले पारासिटामोल र यसको साइड इफेक्टबारे अन्य धेरै कारक जिम्मेवार रहेको मान्छन् । पहिलेका अध्ययनहरूले पनि अलर्ट गराएको थियो । तर सुरक्षित मात्रामा पनि पारासिटामोलको अत्यधिक प्रयोग खतरनाक हुन सक्ने डाक्टरहरूको टोलीले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२ शुक्रबार ००:००  ७ : ३९ बजे