मायादेवी अनलाइन, नन्दनगर ।
श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजले बाणगंगा नगरपालिका–२ नन्दनगरमा आयोजना गर्न लागेको श्री वामनपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याचल ३१ औँ ज्ञान–महायज्ञ–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। मंसिर ५ गतेदेखि ११ गतेसम्म चल्ने यस साताव्यापी धार्मिक अनुष्ठानबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
महायज्ञका संयोजक रबिराज शर्मा ज्ञवालीका अनुसार परमपूज्य श्रद्धेय लोकानन्द स्वामीको संरक्षणमा दैनिक सन्ध्याकालिन महाआरती तथा वचनामृत प्रवचन हुनेछ। प्रमुख वाचकका रूपमा सुप्रसिद्ध १८ पुराण प्रवक्ता आचार्य वेदप्रकाश भट्टराईले प्रवचन दिने कार्यक्रम रहेको छ।
संयोजक ज्ञवालीले महायज्ञले स्थानीयस्तरमा संस्कृत शिक्षा प्रवर्द्धन, धार्मिक चेतना विस्तार र सामाजिक सद्भाव मजबुत बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमबारे आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले यस्ता धार्मिक तथा सांस्कृतिक पहलहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताउनुभयो। उहाँका अनुसार समुदायलाई एकतामा बाँध्ने, संस्कृतिको संरक्षण गर्ने र सामाजिक सद्भाव विस्तार गर्ने माध्यमका रूपमा यस्ता कार्यक्रमहरूप्रति पत्रकारिताको क्षेत्र सधैं साथ र सहयोगका साथ रहन्छ।
आयोजक संस्थाले भक्तजन तथा स्थानीयवासीहरूलाई महायज्ञमा सहभागिता जनाई धार्मिक लाभ प्राप्त गर्न हार्दिक निमन्त्रणासमेत गरेको छ।







प्रतिक्रिया