१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

भव्य सांस्कृतिक झल्कोसहित पाँचौ बुद्धभूमि महोत्सवको उद्घाटन



मायादेवी अनलाइन, बुद्धभूमि ।
पाँचौ बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक प्रदर्शनी भव्य समारोहकाबीच बिहीबार उद्घाटन गरिएको छ। उद्घाटन अवसरमा नगरका विभिन्न विद्यालय, क्लब र आमासमूहले बाजागाजासहित आकर्षक झाँकीसहित महोत्सव परिक्रमा गरेका थिए। मयुर नृत्य, पञ्चेबाजा र स्थानीय संस्कृतिलाई झल्काउने विविध प्रस्तुति प्रदर्शन गरिएको थियो।

बुद्धभूमि उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ पटक आयोजना गरिएको महोत्सव यस वर्ष विगतका संस्करणभन्दा पृथक र प्रभावकारी हुने आयोजक समितिले जनाएको छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले अन्तरीम सरकारले निजी क्षेत्रका माग सम्बोधन गर्न नसकिरहेको बताउँदै मुलुकको राजनीतिक तथा आर्थिक अवस्था जर्जर बन्दै गएको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, “अहिले देशमा राजनीतिक स्थिरता छैन, चुनावको चर्चा छ। अन्तरीम सरकारले निजी क्षेत्रलाई अपेक्षित निकास दिन सकेको छैन। आन्दोलनले राजनीतिक दलहरू सच्चिनुपर्ने सन्देश दिएको छ।”

शर्माका अनुसार महोत्सवले ठूला उद्योग स्थापना, उत्पादन प्रवर्द्धन तथा स्थानीय सामग्रीको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैगरी, बुद्धभूमि उद्योग बाणिज्य संघका कार्यबाहक उपाध्यक्ष विष्णु प्रसाद पौडेलले महोत्सवमा स्थानीय किसान, उद्यमी तथा हस्तकला उत्पादकहरूलाई निःशुल्क स्टल प्रदान गरिएको जानकारी दिनुभयो।
संघले स्थानीय उत्पादन, महिला उद्यमशीलता, सामूहिक तथा निजी उद्यमका सामग्रीलाई प्रवर्द्धन गर्दै रोजगार र आर्थिक गतिविधि विस्तारमा महोत्सव महत्वपूर्ण हुने बताएको छ।

महोत्सवको पहिलो दिन लोकप्रिय लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति प्रस्तुत गरिएको थियो। मेला मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : ४ मंसिर २०८२ बिहिबार ००:००  ९ : ३२ बजे