काठमाण्डौ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । चितवनका रवि बोपाराले ६६ रन बनाए । प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३, अभिशेष गाैतम र गुल्बादिन नइबले २ विकेट लिए ।
चितवनले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । एनपीएलमा चितवन, लुम्बिनी, काठमान्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्ग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ वटा टोली सहभागी छन् ।
मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।







प्रतिक्रिया