१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

गलत मनसायका सहकारीबाट समग्र क्षेत्र बदनाम हुन नदिन सांसद पन्थीको जोड



कपिलवस्तु ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले गलत मनसायले खोलिएका केही सहकारीहरूको गतिविधिले स्थानीय स्तरमा समस्या उत्पन्न गरेको बताउनुभयो। बाहिरी जिल्लाबाट भव्य रूपमा कार्यालय सञ्चालन गर्दै अनियमित रूपमा निक्षेप संकलन गरेर भाग्ने प्रवृत्तिले समग्र सहकारी क्षेत्र बदनाम हुन नहुने उहाँको भनाइ थियो। “देशभरका ३३ हजार सहकारीलाई करिब डेढ–दुई सय बदमासी गर्ने सहकारीका कारण बदनाम गर्नु ठिक होइन,” पन्थीले स्पष्ट पार्नुभयो।

पूर्व स्वास्थ्य मन्त्री समेत हुनु भएका पन्थीले स्थानीय समुदायमा स साना निक्षेप संकलनमार्फत पुँजी निर्माणमा सहकारीले गरेको योगदान उल्लेखनीय रहेको बताउँदै महिला, बालबालिका र किसान वर्गका लागि सहकारी अपरिहार्य बनेको जनाउनुभयो। माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
“सहकारी सबै वर्गको वित्तीय पहुँच विस्तार गर्न, आर्थिक समानता स्थापना गर्न तथा समुदाय सशक्तिकरणमा निर्णायक माध्यम बनेको छ,” प्रदेशसभा सदस्य पन्थीले भन्नुभयो।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले माउण्ट एभरेष्ट सहकारीले समुदायमा देखाएको सेवा, समर्पण र इमानदारिता सम्मानयोग्य रहेको बताउनुभयो। उहाँका अनुसार सहकारीको प्रभावकारी कामले स्थानीयस्तरमा गरीबी न्यूनीकरण, आत्मनिर्भरता तथा वित्तीय शिक्षा सुदृढ बनेको छ।

संस्थाका अध्यक्ष युवराज पोख्रेलले माउण्ट एभरेष्ट सहकारी समुदायमै आधारित भई जनताको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने संस्था भएको उल्लेख गर्नुभयो। वित्तीय वातावरण तरल भए पनि सहकारीले चुनौतीबीच उत्कृष्ट उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो।

कार्यक्रममा कोषाध्यक्ष लेखनाथ भट्टराईले आर्थिक प्रतिवेदन, सचिव खेमराज भट्टराईले कार्यप्रगति प्रतिवेदन र अध्यक्ष पोख्रेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, सदस्य देवेन्द्र थापाले प्रस्तुत गर्नुभएको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

साधारण सभामा विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो। सहकारी प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउने सल्लाहकारहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सहकारीले हाल २४ करोडभन्दा बढी निक्षेप संकलन गरेको, ३२ करोडभन्दा बढी वासलात रहेको तथा ४ हजार २ सय शेयर सदस्य रहेको जानकारी व्यवस्थापक रविलाल भट्टराईले दिनुभयो।

“व्यवस्थित सहकारी, विश्वसनीय सेवा” भन्ने मूल मन्त्रका साथ सहकारीले समुदायमा आर्थिक सुरक्षा, उद्यमशीलता प्रवर्द्धन र वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको सभाका सहभागीहरूले उल्लेख गरे।

प्रकाशित मिति : ६ मंसिर २०८२ शनिबार ००:००  ९ : ३८ बजे