घनश्याम भर (विजयनगर) ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४, त्रिपालनगरमा १ महिने नाैमती पञ्चे बाजा तालिम सुरु भएको छ । त्रिपालनगरमा रहेकाे संगम आमा समूहमा आबद्ध महिलाहरुका लागि नाैमती पञ्चे बाजा तालिम सुरु गरिएको हाे ।
संगम आमा समूहकाे आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा साे तालिम सञ्चालन गरिएको छ । समुदायबाट लाेप हुँदै गएकाे परम्परागत साँस्कृतिक कलाकाे संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने उद्देश्यले नाैमती पञ्चे बाजा बजाउन सिक्ने तालिम सञ्चालन गरिएको हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले परम्परागत साँस्कृतिक धरोहर जोगाउँदै लोक बाजा सिकाई र संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । उनलेे आमा समूहका महिलालाई व्यावसायिक हिसाबले अगाडी बढ्नुपर्नेमा जाेड दिए ।
अहिले पञ्चे बाजा लाेकप्रिय हुँदै गएकाे बताउँदै चाँसाे दिई यसमा लाग्नुपर्ने अध्यक्ष थापाले जिकिर गरे । पञ्चे बाजाकाे माग पनि बढ्दै गएको हुँदा समाजमा विद्यामान रहेका विकृति, विसंगति हट्नुकाे साथै आयआर्जनकाे पाटाे समेत बलियो हुने उनको भनाई छ ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले स्थानीय महिलाहरूलाई सीपयुक्त बनाउँदै साँस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पञ्चे बाजाभित्र पर्ने सबै बाजाहरु अन्य व्यक्तिमाथि निर्भर नभई आफै बजाउन सकिने गरि लाग्नुपर्ने आमा समुहका महिलालाई आग्रह समेत गरे ।
तालिमबारे जानकारी दिँदै संगम आमा समूहकी अध्यक्ष भूमा देवी बस्यालले समुदायमा साँस्कृतिक कला जगेर्ना तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले १ महिने पञ्चे बाजा तालिम सञ्चालन गरिएको बताइन् ।
तालिमले स्थानीय समुदायमा साङ्गीतिक कौशल वृद्धि गर्ने विश्वास व्यक्त गरिन् । यसले नेपाली समुदायमा आफ्नो पहिचान कायम गर्दै बाह्य विकृतिलाई न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाई छ ।
कार्यक्रमलाई ४ का वडा अध्यक्ष तिलकराम कँडेल, कार्यपालिक सदस्य टंक बहादुर सुनार, समाजसेवी शान्ति राेका लगायतले सम्धाेधन गरेका थिए ।







प्रतिक्रिया