दाङ । राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी बिहानैदेखि जनताको सेवामा व्यस्त देखिनुहुन्छ । कहिले बैठक, कहिले पालिकाबाटै गरिएका योजनाको अनुगमन, कतै स्थानीयका गुनासा सुन्ने उहाँको दैनिकी यस्तै छ । तर फुर्सद भएको समयमा बिहान–साँझ घरको छेउमा खनिएको खाल्डोमा कोदालीले गड्यौलासँग रमाउनुहुन्छ । अर्थात्, उहाँले रासायनिक मलको विकल्पका रूपमा (गड्यौला) को सहयातामा कम्पोस्ट मल उत्पादनमा लाग्नुहुन्छ ।
पूर्व कमैया समेत रहनुभएकी चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधि भएपछि उहाँको दैनिक सार्वजनिक काममा बित्छ नै तर फुर्सदका समयलाई कम्पोष्ट मल उत्पादनमा खर्चिदै आउनुभएको छ ।
समयैमा रासायनिक मल नपाइने त्यसैमा उक्त मलको अत्यधिक प्रयोगले माटो बिग्रिदैगएपछि आफू गड्यौला मल उत्पादनतर्फ उन्मुख भएको उहाँले बताउनुभयो । राप्ती–६ भगवानपुरस्थित आफ्नै घरमा कम्पोष्ट मल उत्पादन गर्दै आउनुभएका चौधरीले गत जेठ महिनादेखि यो कार्य सुरु गरेको जानकारी दिनुभयो ।
“रासायनिक मलले माटो बिग्रिने, उत्पादन घट्ने, रोग हुने सम्भावना बढ्ने जस्ता समस्या देखिन थालेपछि यसको विकल्पका रूपमा गड्यौला मल उत्पादन थालेको हुँ,’’ उहाँले भन्नुभयो, ‘‘गड्यौला मल प्रयोग गर्न थालेपछि पहिला भन्दा बालीको गुणस्तर सुधार भएको मलाई महसुस भएको छ ।”
“माटो पनि खुकुलो र उर्बर हुँदै गएको छ,’’ उहाँले भन्नुयभो, ‘‘आफूले उत्पादन गरेको मल खेतबारीमा प्रयोग मात्र नभई व्यवसायिक रूपमा पनि बिक्री हुँदै आएको छु ।” उहाँले अहिले प्रतिकेजी २० रुपियाँको दरले बेचिरहेको बताउनुभयो । तर मैले मागअनुसार पुर्याउन सकेको छैन ।
“रासायनिक मलको असर अहिले देखिन थालेको छ,’’ उहाँले भन्नुभयो, ‘‘माटो, वातावरण र स्वास्थ्य सबैमा नकारात्मक प्रभाव परेको छ, त्यसैले अहिले गाउँ–टोलमै अर्गानिक मलको माग बढ्दै गएको छ । किसानहरूलाई दीर्घकालीन फाइदाका लागि जैविक खेती अपनाउन मैले पालिकाको उपाध्यक्षको हैसियतलेपनि सवैलाई आग्रह गर्दै आएकी छु ।”
उहाँले घरमा रहेका भैंसीको गोबरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्दै गड्यौलाको सहायतामा कम्पोष्ट उत्पादन गर्दै आएको बताउनुभयो । “यो मल उत्पादनमा धेरै खर्च हुँदैन, सामान्य खर्चमै गर्न सकिन्छ, मैलैल ६४ किलो गड्यौला ल्याएर मैले यो मल उत्पादन सुरु गरेको हुँ, उहाँले भन्नुभयो, प्रारम्भिक परीक्षणमै राम्रो परिणाम आएपछि हाल यसलाई व्यवस्थित विस्तार गर्दै व्यावसायिक रूपमा अगाडि बढाएकी छु ।” पालिकाभित्रका किसानहरूलाई पनि कम्पोस्ट मल उत्पादनमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
“हाम्रो माटो सुधार गर्ने, बालीको गुणस्तर बढाउने र मानव स्वास्थ्य जोगाउन सबै किसानले जैविक मल उत्पादन र प्रयोगतर्फ जानु आवश्यक छ,” उहाँले भन्नभयो । राप्ती गाउँपालिकाले जैविक कृषि, वातावरणमैत्री खेती तथा स्थानीय उत्पादन प्रवर्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उहाँले जैविक खेतीले कृषिमा आत्मनिर्भरता, उत्पादनशीलता र किसानको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रबाट







प्रतिक्रिया