२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

काटिएका रुख वनमै भेटिए, रुख काट्नेको खोजी तीव्र



बेलौरी (कञ्चनपुर) । कञ्चनपुरमा अवैध रूपमा कटान गरेर वन क्षेत्रमै छोडिएको १८७ क्युफिट काठ सङ्कलन गरेर घाटगद्दी गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रमा अवैध रूपले कटान गरी छोडिएको १८७.५६ क्युफिट काठ सङ्कलन गरी घाटगद्दी गरिएको हो । 

सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहका अनुसार गौरीघाट सामुदायिक वन क्षेत्रबाट १०१.५५ क्युफिट खयर र ८६.०१ क्युफिट सिसमको काठ सङ्कलन गरी घाटगद्दी गरिएको छ । अझै छोडिएका काठ खोजीको कार्य भइरहेको उहाँले बताउनुभयो । गत मङ्सिर ११ गते दिउँसो उक्त सामुदायिक वन क्षेत्रबाट १३९ रुखहरू गायब गरिएको थियो । जसमध्ये वन क्षेत्रमै छोडिएको अवस्थामा ६१ थान खयरको गोलिया र ४१ थान सिसमको काठ सङ्कलन गरी घाटगद्दी गरिएको साहले बताउनुभयो । अरू काठ खोजी भइरहेको उहाँले बताउनुभयो । 

रुख कटान गर्नेको खोजी 

अवैध रूपमा रुख कटान गरिएपछि सबडिभिजन वन कार्यालय वाणीका प्रमुख साहको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो । सो टोलीले गौरीघाट सामुदायिक वनक्षेत्रमा नयाँ र पुराना गरेर हालसम्म १६४ काटिएका रुखका ठुटा फेला परेको जनाएको छ । जसमध्ये झन्डै एक सय रुख भने अझै गायब गरिएका छन् । साहले अवैध रूपमा रुख कटान गर्नेको खोजी भइरहेको बताउनुभयो । उहाँका अनुसार स्थानीयका घरमा खानतलासी भइरहेको छ । 

उहाँका अनुसार हालसम्म स्थानीयको संलग्नतामा ती रुख काटिएको बुझ्नमा आएको छ तर ती रुख कसले काटे त्यो खुल्नमा आएको छैन । हाल यहाँको कार्कीटोलका स्थानीयका घर घरमा खानतलासी गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो तर स्थानीयको घरमा कुनै काठ फेला नपरेको उहाँले बताउनुभयो । स्थानीयले सबै काठ गायब गरेको पाइएको उहाँले बताउनुभयो । यसैबिच अवैध रूपमा काठ कटान गरिएको विषयमा वडा नम्बर ७ का वडाध्यक्ष घुम्मन राना र गौरीघाट सामुदायिक वनका अध्यक्ष कुमारी बोहोरासहित वनका पदाधिकारीको बयान लिने कार्य भएको अनुसन्धान अधिकृत साहले बताउनुभयो । “सामुदायिक वनका अध्यक्ष र वडाध्यक्षमाथि सोधपुछ गरेका छौँ,” उहाँले भन्नुभयो, “केही स्थानीयसँग पनि यस विषयमा सोधपुछको काम भइरहेको छ ।” 

अवैध रूपमा काठ कटान गरिरहेको अवस्थामा फोटो र भिडियोमा देखिएका स्थानीयको खोजीका लागि नजिकैको प्रहरी कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । अवैध रूपमा जङ्गल फँडानीमा यहाँका जनप्रतिनिधिसमेत कुनै कुनै कारणले मुछिएको देखिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ तर प्रमाण अपर्याप्त हुँदा अहिले नै जनप्रतिनिधिको संलग्नता पुष्टि हुने आधार तयार भई नसकेको डिभिजन वन कार्यालयका प्रमुख सुरेन्द्रचन्द्र डिसीले बताउनुभयो ।

यस्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले १५ दिनभित्र डिभिजन वन कार्यालयलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ । सोही निर्देशन अनुरूप अनुसन्धानको कार्य अगाडि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताउनुभयो ।   

प्रकाशित मिति : २४ मंसिर २०८२ बुधबार ००:००  ९ : ५२ बजे