काठमाडौँ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् ।
‘सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। म भए अगाडि नै गएर बयान दिन्थेँ। निष्पक्षतामा प्रश्न छ। अध्यक्ष जानुपर्छ। जानु हुनेछ। बयान दिन जानुलाई अन्यथा मान्नु हुँदैन,’ पोखरेलले भने ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ ।
५ असोजमा गठित आयोगको म्याद ३ महिना अर्थात् ५ पुसभित्र सकिँदैछ । करिब २ सातामात्रै म्याद बाँकी रहँदा आयोगले बयानसमेत सकेको छैन । फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ । २४ भदौको बिहान कार्की प्रहरीको उपत्यका प्रमुखमा सरुवा भएका थिए ।







प्रतिक्रिया