बाबुराम रायमाझी, जितपुर ।
वाणगंगा नगरपालिका–७ अन्तर्गत पर्ने अत्यन्त पुरानो र व्यस्त बनगाइ–डोहाटे सडकखण्डमा अवस्थित बनगाइ–मोतिपुर–कपिलधाम सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। स्थानीयस्तरमा धेरै वर्षदेखि माग हुँदै आएको यो सडकको जिम्मा N.B. Indreni J.V. बुटवलले जिम्मा पाएको छ ।
सडक निर्माणको ठेक्का पाएका कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार बनगाइको सिमानादेखि मोतिपुर हुँदै कपिलधामको दोस्रो पुलसम्म एकैपटक दुबै तर्फ नालीसहित सडक निर्माण कार्य भइरहेको छ।
६ करोड ६५ लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको उक्त सडक २३०० मिटर (२.३ किमी) लम्बाइ र १३ मिटर चौडाइको रहनेछ।
भुसालका अनुसार, यो सडकखण्ड निर्माणका लागि २ वर्षको समयसीमा तोकिएको भए पनि कम्पनीले कामलाई अत्यन्त तीव्र गति दिएर ६ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ। हालसम्मको कामको गति हेर्दा समयभन्दा धेरै अगावै गुणस्तरीय काम पूरा गर्न सकिने आफूहरू विश्वस्त रहेको उनले बताए।
यसअघि पनि यही कम्पनीले कोइली (ख) को मोटरेबल पुल निर्माण कार्य २ वर्षको समय तोकिएको अवस्थामा केवल ९ महिनामै सम्पन्न गरेर राष्ट्रिय स्तरमै पहिचान बनाएको थियो। गुणस्तरीय र द्रुतगतिमा काम सम्पन्न गर्ने क्षमताका कारण कम्पनीका सञ्चालक भुसाल राष्ट्रिय रूपमा प्रशंसित ठेकेदारका रूपमा चिनिन्छन्।
स्थानीयवासीहरूका अनुसार, सडक निर्माणको गति, मेसिनरी प्रयोग, जनशक्ति र व्यवस्थापनले यसपटक सडक छिट्टै र राम्रो बन्ने अपेक्षा बढेको छ।वाणगंगा नगरवासीले पनि वर्षौंदेखि समस्याग्रस्त रहेको उक्त मार्ग सुधारिन लागेकामा खुशी व्यक्त गर्दै राज्यले द्रुत र इमानदारिपूर्वक काम गर्ने यस्ता कम्पनीलाई सम्मान र कदर गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सडक निर्माण सम्पन्न भएपछि बनगाइ–मोतिपुर–कपिलधाम क्षेत्रमा आवतजावत सहज हुँदै कृषि, पर्यटन र धार्मिक विकाससँगै स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको छ।







प्रतिक्रिया