२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

राष्ट्रियसभाका लागि गुल्मीबाट कांग्रेसका तीन उम्मेदवार सिफारिस



गुल्मी । गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तीन जना पूर्वसभापतिहरुको नाम सिफारिस गरिएको बताइएको छ ।

जिल्ला कार्यसमितिको बैठकबाट तीन जना उम्मेदवारको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा सिफारिस गरिएको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो । सभापति पन्थीका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि पूर्वसभापतिहरु राजेन्द्र प्रसाद पन्त, चन्द्र बहादुर के.सी. र त्रैलोक्य प्रताप सेनको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा सिफारिस गरिएको छ । त्यसैगरी, बैठकमा पार्टीको क्रियाशील सदस्यताको बारेमा व्यापक छलफल गरिएको सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय परिपत्र अनुसार मङ्सिर २९ गतेसम्म क्रियाशील सदस्यता नविकरणमा छुट भएका व्यक्तिहरुको नाम समावेश गराउन सबै तहलाई आग्रह गरिएको छ । १५ औं अधिवेशनका लागि गुल्मीमा नयाँ क्रियाशील सदस्यता वितरणको कार्यलाई तीव्र रुपमा अगाडि बढाइएको कांग्रेस गुल्मीले जनाएको छ । यस जिल्लामा नेपाली कांग्रेसको क्षेत्रीय समिति मार्फत पालिका समिति हुँदै वडा समितिद्वारा नयाँ क्रियाशील सदस्यताको फाराम वितरण गरिएको हो ।

सभापति पन्थीका अनुसार केन्द्रबाट सिधै क्षेत्रीय समितिमा नयाँ क्रियाशील सदस्यता फाराम आएका हुन् । यस जिल्लामा क्षेत्रीय समितिले पालिका हुँदै वडा तहमा नयाँ क्रियाशील सदस्यता फाराम पुर्‍याएको छ । निर्धारित समयमा नै नयाँ क्रियाशील सदस्यता फाराम वितरण गरी आवश्यक सम्पूर्ण कार्य सम्पन्न गर्न सबै जिम्मेवार ढङ्गबाट लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । नयाँ क्रियाशील सदस्यता फाराम वितरण गर्दा समावेशीता, नवयुवा पुस्ता, नयाँ तथा अन्य पार्टीहरुबाट आउनुभएकालाई पनि प्राथमिकतामा राखिने बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२ शुक्रबार ००:००  १२ : ०१ बजे