१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मुग्लिन–पोखरा सडक अन्तर्गत पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो



तनहुँ ।

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।

यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडक छेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा कालोपत्रको काम शुरू गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

अहिले दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने दुई लेन सकिएपछि अर्को दुई लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा अहिलेसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको छ ।

३८ दशमलव ८८ किलोमिटर दूरीको यो खण्डमा अहिलेसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किलोमिटर खण्डमा चारलेन र ७ दशमलव ७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२ शुक्रबार ००:००  २ : ५२ बजे