एजेन्सी ।
सन् २०२६ को फेब्रुअरी १२ मा बंगलादेशको निर्वाचन आयोगले देशको १३औं राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ ।
देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले गएराति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा यो घोषणा गर्नुभएको हो । उहाँले डिसेम्बर २९ तारिख सम्ममा मनोनयन दर्ता गर्नुपर्ने बताउनुभएको छ ।
जुन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जाँच गरिनेछ । चुनाव आयोगले गएको महिना १२ करोड ७० लाख भन्दा धेरै मतदाता दर्ता भएको बताएको थियो । मुख्य सल्लाहकार मुहम्मद युनुसले अस्ति बुधवार १३औं राष्ट्रिय चुनावलाई गएको वर्ष जुलाईमा भएको जनविद्रोहपछि नयाँ बंगलादेश निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा वर्णन गर्नुभयो । यसलाई निष्पक्ष र विश्वसनीय तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
बंगलादेशको संसद ३ सय ५० सदस्य मिलेर बनेको एक सदनात्मक व्यवस्थापिका हो । यसको संरचना दुई वर्गमा विभाजित छ । प्रत्यक्ष मतदानबाट निर्वाचित ३ सय सदस्यहरू र महिलाका लागि आरक्षित ५० सदस्यहरू छन् ।
आम चुनाव बाहेक बंगलादेशले आफ्नो राज्य सुधार प्रश्तावहरूमा राष्ट्रिय जनमत संग्रह गर्नेछ । जसले देशको राजनीति र संस्थाहरूलाई पुनः आकार दिन र २०२४ को विद्रोहलाई संवैधानिक मान्यता दिन खोज्छ । बंगलादेशको आउँदो जनमत संग्रहमा एउटा ठूलो निर्णय संसदमा दोस्रो सदन सिर्जना गर्ने कि नगर्ने भन्ने हो ।







प्रतिक्रिया