मायादेवी अनलाइन, जितपुर ।
समावेशी लोकतन्त्र र मानव अधिकारको प्रवर्द्धनका लागि नागरिक समाज सवलीकरण (सम–सम) परियोजना सुरु हुने भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालन हुने यस परियोजनाबारे मंगलबार लुम्बिनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।
लोकतन्त्रमा महिला तथा सीमान्तकृत समुदायको सहभागिता र अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका ६ वटा स्थानीय तहमा परियोजना सञ्चालन गरिने लुम्बिनी प्रदेश संयोजक कमला शुक्लले जानकारी दिनुभयो ।
परियोजना कपिलवस्तुको बाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका, रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका तथा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा सञ्चालन हुनेछ ।
परियोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले परियोजनाको सफल कार्यान्वयनका लागि सहरमुखी कार्यक्रमभन्दा पनि ग्रामीण तथा तल्लो तहका पिछडिएका समुदायमा केन्द्रित हुन सुझाव दिनुभयो । लक्षित वर्गका कार्यक्रम होटलभन्दा पालिकाका हलहरूमा सञ्चालन गर्दा प्रभावकारी हुने उहाँको धारणा थियो ।
कपिलवस्तु जिल्लामा महिला तथा मानव अधिकारसम्बन्धी घटना बढी हुने गरेको उल्लेख गर्दै अधिकारीले यस्ता परियोजनाले समाजमा चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमको नतिजा तुरुन्त नआउने भन्दै धैर्यका साथ दीर्घकालीन प्रभावका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै, वार्षिक तथा अर्धवार्षिक समीक्षा भएमा परियोजनाको प्रभावकारिता मापन गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मधुसूदन चौधरीले शिक्षाको कमीका कारण मधेसी समुदाय पछाडि परेको उल्लेख गर्दै यस्ता परियोजनाले समाज रूपान्तरणमा टेवा पुग्ने बताउनुभयो । यस्तै प्रदेश सभा सदस्य निर्मला चौधरीले विगतमा थारु समुदायका महिलामा चेतनाको अभाव रहेको स्मरण गर्दै प्रौढ शिक्षामार्फत आएको परिवर्तनको उदाहरण प्रस्तुत गर्नुभयो ।
बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले परियोजनाका गतिविधि स्थानीय तहकै कार्यक्षेत्रसँग जोडिएकाले पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उनले समुदायलाई परनिर्भर बनाउने होइन, सशक्त बनाउने गरी काम गर्न सुझाव दिनुभयो ।
बर्दघाट नगरपालिकाका मेयर शम्भूलाल श्रेष्ठले परियोजनामा स्थानीय तहको पूर्ण सहयोग रहने उल्लेख गर्दै बढ्दो लागुऔषध समस्या पनि कार्यक्रमले समेट्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपमेयर बिना राना, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेसशरण चौधरी, सरावल गाँउपालिका अध्यक्ष सुखादी प्रसाद चौधरी, सैनामैना नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत तुल्सीराम मरासिनी, गैर सरकार संघकी लुम्बिनी प्रदेस अध्यक्ष सुसिला बेल्वासेले सुशासन, पारदर्शिता र समावेशीतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा समसम परियोजनाअन्तर्गत प्रोपब्लिकका गुड गभर्नेन्स एडभाइजर प्रकाश दाहालले परियोजनाका उद्देश्य, कार्यक्षेत्र तथा गतिविधिहरूबारे विस्तृत रूपमा जानकारी गराउनुभयो। सो क्रममा सहभागीहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको उहाँले स्पष्ट र सन्तोषजनक रूपमा उत्तर दिनुभएको थियो । परियोजनाको आधारबारे बोल्दै, दाहालले भन्नुभयो, “नागरिक समाज सुदृढीकरण परियोजना नेपालको संवैधानिक व्यवस्था र कानुनी ढाँचासँग समानान्तर रूपमा डिजाइन गरिएको छ। यो व्यापक राष्ट्रिय तहका परामर्शहरूको नतिजा हो र नेपालको विश्वव्यापी मानव अधिकारप्रतिको प्रतिबद्धतामा गहिरो रूपमा जरा गाडेर बनेको छ। यस महत्वपूर्ण परियोजनालाई वास्तविकता बनाउन महत्वपूर्ण सहयोग पुर्याएबापत क्यानाडाली सरकार र सीईसीआईलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
त्यसैगरी सेसीका कन्ट्री रिप्रेजेन्टेटिभ दीपक खड्काले पालिकासँगको प्रभावकारी समन्वय र सहकार्य कायम भएमा मात्र परियोजना दीर्घकालीन रूपमा सफल हुने धारणा व्यक्त गर्नुभयो। साथै, परियोजनाअन्तर्गत तय गरिएका गतिविधिहरूलाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन स्थानीय तहको सक्रिय भूमिका अत्यन्तै आवश्यक रहेको कुरा उहाँले जोड दिनुभयो। परियोजना सबै सरोकारवालाहरूसँग सहकार्य, समन्वय र मार्गदर्शनको आधारमा रहेर सञ्चालन हुने प्रतिबद्धता जनाउनुभयो। स्थानीय सरकारमा काम गर्दै गर्दा, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गर्दै नीति तहका कार्यक्रममा संलग्न हुने अवसरको पहिचान गर्दै कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो।

क्यानडा सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने महिला तथा सीमान्तकृत समुदाय लक्षित यस परियोजनाको कुल बजेट २० करोड रुपैयाँ रहेको छ । परियोजना सन् २०२८ सम्म सञ्चालन हुनेछ भने चार साझेदार संस्थाको सहकार्यमा कार्यान्वयन गरिनेछ ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका तर्फबाट नीति सल्लाहकार गुणनिधि भुसाल उपाध्यक्ष शोभा आचार्य, सचिव दुर्गा अर्याल, फाइनान्स डिपार्टका निर्मल कुँवर सिइएफ कमल सिंह थारु लगायतको उपस्थिति रहेको थियो। सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शोभा आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन परियोजनाकी गीता अर्यालले गर्नुभएको थियो ।








प्रतिक्रिया