काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ।
उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ।
बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरेका थिए।
तर उनले धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दपएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ।
उक्त दफाको ‘ग’मा भनिएको छ, ‘बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने र बदनीयत साथ झुठ्टा वा भ्रामक विवरण प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने।’
यसरी बदनियत राखेर उनले शेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरित नाफा कमाएको एसएसपी श्रेष्ठले बताए।
अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरफ कारोबार गरेको आरोप छ।
त्यस्तै यसरी उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको देखिएको हो।
उनले सोही ऐनको दफा ९४ को क र ख अनुसार र दफा ९५ अनुसार झुठो कारोबार र मूल्य प्राभवित पार्ने कसुर समेत गरेको बोर्डको प्रतिवेदनमा देखिएको छ।
सोही प्रतिवेदनको आधारमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो।
यसअघि पनि प्रहरीले अग्रवाललाई ठगी कसुरमा पक्राउ गरिसकेको छ।







प्रतिक्रिया