२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गयो



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। खोटाङ, मोरङ, चितवन, नवलपरासी पश्चिम र सुनसरीमा यी दुर्घटना भएका हुन्।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुक्रबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५५ वर्षीय पदम बहादुर खड्काको मृत्यु भएको छ। गम्भीर घाइते खड्काको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा निधन भएको हो भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङको सुन्दरहरैँचामा स्कुटर र साइकल ठोक्किँदा ६४ वर्षीया जिवन कुमारी श्रेष्ठको ज्यान गएको छ। बास बोकेको साइकलसँग स्कुटर ठोक्किँदा घाइते भएकी श्रेष्ठको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पनि ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षीय अनिष नेपालको मृत्यु भएको छ। तनहुँ घर भएका नेपालको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

नवलपरासी पश्चिमको सुनवलमा माइक्रोबसको ठक्करबाट २१ वर्षीया पैदलयात्री मनिषा क्षेत्रीको मृत्यु भएको छ। सुनवल चोकमा पैदल हिँडिरहेकी क्षेत्रीलाई माइक्रोले ठक्कर दिएपछि देवदह मेडिकल कलेज पुर्‍याइएको भए पनि उनलाई बचाउन सकिएन।

उता सुनसरीको इटहरीस्थित पानीपिया जङ्गलमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा धरानका ३४ वर्षीय सुसान्त राज ताम्राकारको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको निधन भएको हो।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : ५ पुस २०८२ शनिबार ००:००  ६ : ०६ बजे