६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित



काठमाण्डौ ।

क्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका छन् ।

बाक्लो हुस्सुका कारण कतिपय उडान/अवतरण पनि प्रभावित बन्दै आएका छन् । पुसलागेयता चिसो बढेको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि दैनिकी नै प्रभावित बन्न थालेको हो । आज पनि तराईका क्षेत्रमा तापक्रम घट्ने तथा हुस्सु लाग्ने सम्भावना छ ।

यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी र हिमाली भागमा आंशिक बदली रही तराई भागमा हुस्सु लागेको छ । बाँकेमा अस्ति बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै चिसो बढ्दै गएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या पनि बढेको छ ।

यसैबीच कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा आज र भोलि बिदा दिने निर्णय गरिएको हो ।

सप्तरीको सुरुङगा नगरपालिकाले ५० जना  र खडक नगरपालिकाले १ सय ५० जना अशक्तलाई कम्बल वितरण गरेको छ । त्यसैगरी रौतहटको गौर नगरपालिकाले जाडो बढेसँगै चोक–चोकमा आगो बाल्नका लागि डिभिजन वन कार्यालयसँग दाउरा माग गरेको छ ।

यस्तै काठमाण्डौमा पनि हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौमा हिजो बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको थियो ।  यसैबीच कपिलवस्तुमा पनि लगातारको कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका, महिला तथा बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२ आइतबार ००:००  ७ : ३० बजे