२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

सुन्तला खेतीमा किसानको आकर्षण



गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकामा सुन्तला खेतीको आकर्षण बढ्दै गएको छ। गाउँपालिकाको विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयले सुन्तला खेतीमा निकै आकर्षण देखाउँदै आएका छन्। कालीगण्डकी गाउँपालिकाको लमसराङ, निगारे, अर्वेनी देउराली, सौरेनी र छापचौर नयाँगाउँ लगायतका विभिन्न ठाउँका स्थानीयहरूमा अहिले सुन्तला खेतीमा निकै आकर्षण बढेको छ। 

सुन्तला खेतीमा आकर्षण बढेको हुँदा गाउँपालिकाले प्रोत्साहनका विभिन्न कार्यक्रमहरू समेत गरेको छ। यस गाउँपालिकाको वडा नम्बर–४ पुर्तिघाट सौरेनीका टोमबहादुर रानाका बारीमा अहिले पाँच सय फल दिने सुन्तलाका बोट छन्। १० वर्षअघिदेखि व्यवसायिक रूपमा सुन्तला खेती सुरु गरिएको उहाँले बताउनुभयो।

वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गरेको रानाले बताउनुभयो। त्यसैगरी पुर्तिघाटकै दमाराका सूर्यबहादुर रानाले गतवर्ष चार सय सुन्तलाका बिरुवा लगाउनु भएको थियो। ४० बोटबाट ६ क्विन्टल अहिले पनि बिक्री गरिएको उहाँले बताउनु भयो। पालिकाले बिरुवा निःशुल्क र प्रति खाल्डा चार सय रुपियाँमा खाल्डा खन्न सहयोग गरेको थियो। गतवर्ष ६५ लाख रुपियाँको सुन्तला निर्यात भएको थियो। 

गाउँपालिकाका कृषि अधिकृत सुशील पाण्डेका अनुसार यसवर्ष ७५ लाख रुपियाँभन्दा बढीको निर्यात हुने अनुमान गरिएको छ। गतवर्ष छ हजार बढी सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिएको थियो। यसवर्ष १५ हजार सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिने भएको छ। 

प्रधानमन्त्री रोजगारमा आउने सम्पूर्ण रकम कृषि क्षेत्रको सुन्तला खेतीमा लगानी गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनु भयो। सुन्तला खेतीमा गाउँपालिकाले प्रोत्साहन गरिरहेको भन्दै उहाँले सुन्तला खेतीमा किसानको आकर्षण बढिरहेको बताउनु भयो। 

प्रकाशित मिति : ६ पुस २०८२ आइतबार ००:००  ७ : ४६ बजे