३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

किर्डाकद्वारा सञ्चालित ‘विलिफ परियोजना’ समुदाय र विद्यालयमा प्रभावकारी बनेको ठहर



मायादेवी अनलाइन, शिवराज ।
स्ट्रोम फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालले संचालन गर्दै आएको विलिफ परियोजना अन्तर्गत शिवराज नगरपालिका–९ का विभिन्न विद्यालय, बाल क्लब तथा समूहहरुको सोमबार संयुक्त अनुगमन गरिएको छ ।

अनुगमन टोलीले बानियाभारस्थित सरस्वती माध्यमिक विद्यालयमा परियोजनाका गतिविधि अवलोकन गर्दै दीर्घकालीन मार्गचित्र अनुसार विद्यालयमा भएको परिवर्तनका बारेमा जानकारी लिएको थियो । परियोजनाले सरस्वती माविमा नमुना बाल विकास केन्द्र, एकीकृत पाठ्यक्रममा आधारित कक्षाकोठा व्यवस्थापन, स्टिम पद्धतिमा आधारित शिक्षण, हेल्थ कर्नर, पाक्षिक कार्यशाला, एसईई केन्द्रित विशेष कक्षा, समुदायको सहभागितामा आधारित कोचिङ कक्षा तथा विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ ।
अनुगमनको क्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति बाबुराम आचार्यले निःशुल्क शिक्षा लागू भएको शिवराजमा परियोजनाले शिक्षा विकासमा सकारात्मक योगदान र्पुयाइरहेको बताउनुभयो ।

‘शिक्षामा समुदाय र अभिभावकको सक्रियता अत्यावश्यक छ, प्रभाव देखिएको ठाउँमा परियोजना विस्तार हुनुपर्छ, सभापति आचार्यले भन्नुभयो ।’ त्यसैगरी शिवराज नगरपालिकाका मेयर अजय थापाले निःशुल्क तथा गुणस्तरयुक्त शिक्षामा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै शिवराज अंग्रेजी माध्यममा केन्द्रित गएको बताउनुभयो । थापाले नतिजा–केन्द्रित शिक्षा नै हाम्रो नगरको प्राथामिकता रहेको बताउनुभयो ।

मेयर थापाले किर्डाक नेपाल र नगरपालिकाबीच शिक्षा सुधारका लागि निरन्तर समन्वय जारी रहेको बताउनुभयो ।
परियोजनाले वडा न. ९ मा शिवगढी स्वावलम्बन समूह गठन गरी जीवन उपयोगी सीप तथा व्यवसाय सञ्चालनका लागि अनुदान वितरण गरिरहेको छ।

समूहमा महिलाहरुले परियोजनाबाट सामूहिक खेती, बचत र आयआर्जनमा जोडिन थालेको अनुभव सुनाए ।
“पहिले आफैलाई परिचय दिन पनि लाज लाग्थ्यो, अब समुदायमा आत्मविश्वासका साथ अघि बढ्न सकेका छौँ, महिलाहरुले बताए । ”

सोही अवसरमा संवाद केन्द्रको अनुगमन पनि गरिएको थियो । केन्द्रमा आवद्ध किशोरकिशोरीले विलिफ परियोजनाले व्यक्तित्व विकास, लक्ष्य निर्धारण र भविष्य उन्मुख बन्न प्रेरित गरेको बताए ।

किर्डाक नेपालकी अध्यक्ष सम्झना मल्लका अनुसार संस्थालेले शिवराज र बुद्धभूमि नगरपालिकाका ६ वडामा विलिफ परियोजना सञ्चालन गर्दै आएको छ । “हामी शिक्षा, कृषि तथा मानसिक स्वास्थ्यमा ध्यान दिंदै आएका छौँ, अनुगमनबाट आएका सुझावलाई आत्मसात गर्दै परियोजना अझ प्रभावकारी बनाइनेछ, मल्लले भन्नुभयो । ”

अनुगमनमा जिल्ला समन्वय समिति सभापति बाबुराम आचार्य, उपसभापति रमेश कुर्मी, समन्वय अधिकारी जनार्दन अधिकारी, शिवराज नगरपालिकाका मेयर अजय थापा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढका, भेटेरिनरी अस्पतालका विज्ञ सुकई प्रसाद थारु, कृषि ज्ञान केन्द्रका राम सुरत पाल, शिक्षा समन्वय इकाइ अधिकृत चोपलाल बेल्वासे, गैसस महासंघ कपिलवस्तु अध्यक्ष जयप्रकाश पाण्डे, पत्रकार महासंघका उपाध्यक्ष तथा किर्डाक नेपालका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८२ मंगलबार ००:००  ६ : ४५ बजे