भुपाल थापा, तौलिहवा ।
कपिलवस्तु स्थित सशस्त्र प्रहरी बल नम्बर २८ गण हेड क्वाटर बर्मेलीको १९ औं स्थापना दिवस मनाइएको छ । सशस्त्र प्रहरी वल नेपाल, नम्बर २८ हेड क्वाटर कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीले गण परिसरमा मंगलबार एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र कुवँरले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सफल भएको बताए । उनले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको बताउँदै आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाए ।
विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा सशस्त्र प्रहरी वलको माग देशभर भइरहेको उनको भनाइ छ । यसका साथै सशस्त्र प्रहरीको भूमिकाले राजश्वमा समेत योगदान बढेको डीआईजी कुवँरले जानकारी दिए । निकट समिपमा आएको प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सुरक्षा संयन्त्र तदारुकताका साथ लागि पर्नुपर्नेमा समेत उनको जोड थियो ।
जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्यले विपद, सीमा रक्षालगायतमा सशस्त्र प्रहरी वलको भूमिका उल्लेखनीय भएको चर्चा गरे । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले कठिन परिस्थतिमा स्थापना भएको सशस्त्र प्रहरी वलले हरेक कठिन अवस्थालाई सहजतालाई बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै आगामी दिनमा थप कर्मशील र इमान्दार बन्न सुझाव दिए ।
२०६४ साल पुष १५ गते सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ तौलिहवा स्थित नेपाल कृषि सामग्री संस्थानको पुरानो गोदामबाट कार्य संचालन गरिएको थियो । सदरमुकाम तौलिहवा देखि ७ किलो मिटर उत्तर पश्चिम तर्फ हेड क्वाटर रहेको छ ।
स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ३०० मिटर दौड प्रतियोगिता, मठ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम संचालन गरिएका थिए । सोही अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमका विजेताहरूलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सुरक्षा समितीका प्रतिनिधी, बुद्धभूमि नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम, यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारी, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, उपाध्यक्ष होमप्रकाश चौधरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल लगायतको आतिथ्यता रहेको थियो ।







प्रतिक्रिया