१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

वाणगंगा–९ मा गुरुङ समुदायले हर्षोल्लासपूर्वक मनाए तमु ल्होसार पर्व



बाबुराम रायमाझी,भलवाड । 

तमु छोझदि जिल्ला समिति कपिलवस्तुको आयोजनामा गुरुङ समुदायले वाणगंगा नगरपालिका वडा नं. ९ को पडरियामा तमु ल्होसार पर्व भव्य तथा हर्षोल्लासपूर्वक मनाएका छन्। 

गुरुङ समुदायको मौलिक संस्कृतिको संरक्षण, पहिचान र पुस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विविध सांस्कृतिक झाँकी, नृत्य तथा परम्परागत भेषभूषाले कार्यक्रमस्थल रंगीन बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व–संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनु भएको थियो ।उनले तमु ल्होसार पर्वले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचान मजबुत बनाउने विश्वास व्यक्त गर्दै गुरुङ समुदायलाई ल्होसारको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नगर उप–प्रमुख रीता कुमारी चौधरी, प्रशासन प्रमुख केशवराज भट्टराई, राजस्व प्रमुख मदन घिमिरे, वडा अध्यक्ष कमल पौडेल, बिस्मु गिरी, भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी, होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष रविन्द्र पौडेल, वडा सदस्य मुम बहादुर पाण्डे लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

तमु छोझदी जिल्ला समिति कपिलवस्तुका अध्यक्ष लेम बहादुर गुरुङको अध्यक्षता तथा नगर प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि प्रदेश समिति सदस्य बिन्द्र गुरुङ रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव नन्द गुरुङले गर्नु भएको थियो ।

कार्यक्रममा गुरुङ समुदायका परम्परागत गीत–नृत्य प्रस्तुत गरिएको थियो भने नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र सांस्कृतिक मूल्यबारे जानकारी गराउने उद्देश्यले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायबीच आपसी भाइचारा, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्षको रूपमा मनाइने प्रमुख पर्व हो। यस अवसरमा गुरुङ समुदायले आफ्नो मौलिक पहिचान झल्कने सांस्कृतिक गतिविधि गर्दै सामूहिक रूपमा खुशी साटासाट गर्ने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२ मंगलबार ००:००  ९ : १२ बजे