मायादेवी अनलाइन, जितपुर ।
बाणगंगा नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोग तथा बाणगंगा नगरपालिकाको आयोजनामा वडा नम्बर ७ को वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाईमा सहभागिले सवाल, जनगुनासो तथा जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चक्र अर्यालले सबैको साथ, सहकार्यबाट मात्र विकास सम्भव भएको भन्दै हातेमालो गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । अर्यालले नगरले सु-सासन र पारदर्शीतालाई महत्व दिँदै काम गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा सहभागिले उठाएका जिज्ञासाहरु सत्य रहेको भन्दै ति समस्या समाधानका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमले आफुलाई सच्चीने अवसर प्राप्त हुने भन्दै सकरात्मक आलोचना स्विकार गर्दै जाने बताउनुभयो । पछिल्लो समय सामाजिक संजालमा टिकाटिप्पणी तथा आलोचना भन्दापनि रिसिइभी साध्नेगरी टिप्पणी हुनेगरेको भन्दै यस्ता सार्वजनिक कार्यक्रममा ढुक्कसंग आफ्ना गुनासो राख्न आग्रह गर्नुभयो ।
यस्तै उपप्रमुख रिता कुमारी चौधरीले नगरको विकासका लागि आफुहरु लागि परेको भन्दै काम गर्नेक्रममा केहि कमिकमजोरी भएमा यस्ता कार्यक्रममार्फत जानकारी गराउनुपर्ने बताउनुभयो । नगरले महिला लक्षित कार्यक्रम अन्तरगत महिलालाई उद्यमशिल बनाउन विभिन्न ब्यवसायीक तालिम गर्दै आएको बताउनुभयो ।
वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले सार्वजनिक सुनुवाईमा आफुले साच्चिकै नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी तयारी रहेपनि सोही अनुसारका गुनासा नआएको बताउनुभयो । यसलाई आफुहरुले सकरात्मक रुपमा लिएको भन्दै वडा नम्बर ७ को बिकासमा जनस्तरबाट भरपुर साथ र सहयोग पाएको बताउनुभयो । वडाले चार वटा योजनालाई प्राथामिकता दिएको भन्दै उक्त योजनाअनुरुपनै काम भएकोमा खुसी ब्यक्त गर्नुभयो ।
बनगाई- मोतिपुर सडक निर्माण, एक घर एक धाराको लक्ष्य अनुसार वडाका प्रत्येक नागरिकको घरमा खानेपानीको धारा पुगेको बताउनुभयो । यसैगरी नगरको पर्यटकीय स्थलका रुपमा बिकास हुँदै गएको खारखानी पार्क तथा पिकनिक स्पट तथा लक्ष्मणघाटको ब्यवस्थापनमा आफुहरु लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले विकाससंगै बिनास पनि हुने भन्दै यसलाई संगै लिएर जानुपर्ने बताउनुभयो । नागरिकको जनगुनासो सुन्ने र सम्बन्धीत ठाँउमा पुर्याउनु पत्रकारको कर्तब्य रहेको भन्दै जनगुनासोको यथोचित सम्बोधन हुनेगरी काम गर्ने बताउनुभयो ।
कार्यक्रममा फुलबारी सामुदायिक बनका अध्यक्ष शेषकान्त बेल्वासले नगरपालिकाले संचालन गर्ने आयोजना तथा विकास निर्माणका कामको पटकपटक अनुगमन गर्नुपर्ने बताउनुभयो । साथै जनस्तरबाट आएका समस्याको सम्बोधन गर्दै काम तिव्ररुपमा गर्नुपर्ने भन्दै यसकालागि आफुहरुपनि सहकार्यगर्न तयार रहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा सहभागिले नगर प्रमुख समक्ष विभिन्न गुनासो तथा जिज्ञासा राखेका थिए । स्थानीय राम बहादुर केसीले नदिजन्य पद्धार्थ निकासी नहुँदा विकास निर्माणका काम ठप्प भएको भन्दै यसको निकासीका लागि माग गर्नुभयो । यसैगरी जनक थापाले खारखानीमा पिकनिक क्षेत्र ब्यवस्थापन गर्नुपर्ने, लक्ष्मण घाटमा शबदाह ब्यवस्थापनका लागि सामुदायिक बनसंग सहकार्य गर्नुपर्ने बताउनुभयो ।
स्थानीय विष्णुप्रसाद आचार्यले मालपोत कार्यालयमा सेवालिन जादा सेवाग्राहीले सास्ती खेप्नुपरेको बताएका थिए । यस्तै आगामी बजेटमा सिंचाईलाई महत्व दिन, महिलालाई उद्यमसिल बनाउने गरी कार्यक्रम गर्न, शिक्षा, स्वास्थ्य लगाएत विकास निर्माणको काममा गुणस्तरमा ध्यान दिन सुझाएका थिए ।
सार्वजनिक सुनुवाईमा बाणगंगा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तीराम मरासिनीले नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ अन्तरगत हालसम्मको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष दिपा महतले नागरिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मोहन बेल्वासेले बर्हिगमन प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाका मेयर चक्र अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासंघका सचिव सनिउल्ला धोबीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख, राजनैतिक दलका प्रतिनीधि लगाएत स्थानीयको सहभागिता रहेको थियो ।







प्रतिक्रिया