२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

ओली र बालेनबाट देश चल्दैनः विश्वप्रकाश शर्मा



काठमाडौँ ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताएका छन्।

सोमवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन्। उनले शाह र ओलीलाई लक्षित गर्दै एकजना बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने खालको रहेको भन्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताए।

प्रधानमन्त्रीले अन्ताराष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उनको भनाइ छ। उनले काँग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रस्तुत गरे। अहिलेको बहस वडाध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उनले झोक चल्यो भने घर जलाइदिन्छु भन्ने अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गरे।

शर्माले भने, ‘प्रधानमन्त्रीको एकजना उम्मेदवार हुनुहुन्छ बोलेको बोल्यै, घोचेको घोच्यै गर्ने, अर्को प्रधानमन्त्री हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौन धारण। एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराइहाल्ने। देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन। बोल्दै नबोल्नेबाट पनि चल्दैन। देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ। गगन थापा त्यही कुराको तौलेर  बोल्ने व्यक्तिको रूपमा हुुनुहुन्छ। यहाँ प्रश्न वडाध्यक्षको होइन प्रधानमन्त्रीको छ। झोक चल्यो भने घर जलाइदिन्छु भनेको छ। यस्तै झोक चल्यो भने सोच्नुस् त।’

उनले जेनजी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीको जिम्मा लिन आफूहरू तयार रहेको पनि बताए।

प्रकाशित मिति : २६ माघ २०८२ सोमबार ००:००  ८ : ४४ बजे