२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्दा पड्कियो, किशोरको मृत्यु



डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु भएको छ ।

परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । प्रहरीका अनुसार दुई किशोर बन्दुक समातेर फोटो खिच्ने क्रममा घटना भएको हो ।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । तर चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२ बुधबार ००:००  १० : ०९ बजे