४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय



कठमाण्डौ ।

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृती दिने निर्णय गरेको छ । यो निर्णयसँगै यसअघि बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ ।

पहिलेदेखि कार्यरत नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिने निर्णयले केही राहत भएको छ । मध्यपूर्वमा विकसित युद्धका कारण यसअघि गएको फागुन १७ गतेदेखि ती देशको श्रम नवीकरण रोकिएको थियो । पछिल्लो समय ती देशमा देखिएको अस्थिर अवस्था, सुरक्षा जोखिम तथा अनिश्चितताको कारण यस्तो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम नवीकरण नदिने यसअघिको निर्णय यथावत् छ । वैदेशिक रोजगार विभागका अनुसार गएको माघसम्म नयाँ र पुरानासहित ७० हजार ५ सय ३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो ।

तीमध्ये ४८ हजार २ सय २६ जनाले मध्य पूर्वका १२ देशमा जान श्रम स्वीकृति लिएका थिए । नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य देशमध्ये ४ देश कुवेत, यूएई, साउदी र कतार हुन् ।

गएको फागुनमा विभागले नयाँ र पुरानो गरेर ५२ हजार जनालाई श्रम स्वीकृति दिएको छ । सरकारले तनाव बढेका मध्यपूर्वका देशमा अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक बाहेकको यात्रा स्थगित गर्न पनि आग्रह गरेको छ । 

प्रकाशित मिति : ४ चैत्र २०८२ बुधबार ००:००  ७ : ४४ बजे